काठमाडौं- युद्धविराम घोषणा भए पनि युक्रेनको प्रमुख तटीय सहर मारिउपोलमा उद्दारकार्य स्थगित भएको छ। मारिउपोल नगर परिषद्ले उक्त जानकारी दिएको हो।
परिषद्ले रुसी पक्षले अस्थायी युद्धविरामको पालना नगरेको जनाएको छ। परिषद्ले सर्वसाधारण नागरिक तितरबितर भएर लुक्ने ठाउँ खोज्नुपर्ने अवस्था सिर्जना भएको र थप जानकारी छिट्टै सार्वजनिक गरिने बताएको छ।
यसअघि रुसले युद्धविरामको घोषणा गरेपछि पनि आक्रमण जारी रहेको मारिउपोलका उपमेयरले बताएका थिए। मारिउपोलमा अझै पनि विस्फोटको आवाज सुनिएको छ ।
मारिउपोलका डेपुटी मेयर सेरेई ओर्लोफले बीबीसीलाई भने,‘रुसीहरूले हामीमाथि बमबारी गरिरहेका छन् र गोली हानेका छन्। मारिउपोलमा युद्धविराम छैन। हाम्रा नागरिकहरू यस ठाउँ छोड्न तयार छन् तर बम विस्फोट भइरहेको छ।’
जारी युद्धको दशौं दिन रुसले युक्रेनका दुई सहरमा युद्धविरामको घोषणा गरेको छ। यो युद्धविराम मारिउपोल र भोल्नोभाखको सहरहरुको लागि हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।