काठमाडौं– प्रेस काउन्सिल नेपालले कलाकार पल शाह र एक नाबालिग गायिकाका विषयमा विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्जाल (युट्युब) बाट सम्प्रेषण भएका सामग्रीहरूप्रति आफ्नो गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ।
आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको काउन्सिलले जनाएको छ। दर्ता र सूचीकरण नभएका १० वेबपोर्टलहरूलाई नेपालभित्र सम्प्रेषण हुन नसक्ने व्यवस्थाका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पत्राचार भएको काउन्सिलले आज एक विज्ञप्तिमार्फत जनाएको छ।
कुनै मिडियाअन्तर्गत आवद्ध नभएका १६ युट्युब च्यानललाई अनुसन्धान गरी आवश्यक कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरोमा सिफारिस गरिएको काउन्सिलले जनाएको छ।
अनुगमनका क्रममा विभिन्न सञ्चार माध्यम, वेबपोर्टल र सामाजिक सञ्जाल (खासगरी युट्युब) समेतबाट वैयक्तिक गोपनीयताको प्रतिकूल हुने, पीडितलाई थप पीडा पुग्ने, पीडितलाई नकारात्मक असर पर्ने र पीडितको पहिचान खुल्ने गरि नाम, तस्बिर, भिडियो सामग्री सम्प्रेषण गर्ने, न्यायिक निकायमा विचाराधीन मुद्दाको स्वच्छ सुनुवाइ प्रक्रियामा प्रभाव पर्ने किसिमबाट आरोपी र जाहेरीवालाको पक्ष–विपक्षमा सामग्री सम्प्रेषण भइरहेका तथ्यहरू फेला परेको विज्ञप्तिमा उल्लेख छ।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।