काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक तथा पुरातात्विक महत्त्वका सम्पदाहरुको संरक्षणमा संघीय सरकारले चासो नदिएको गुनासो गरेका छन्।
मेयर शाक्यले सम्पदाहरुको संरक्षण गर्ने दायित्व संघीय सरकारको भएपनि सोही अनुसार काम नगरेको बताएका हुन्। शुक्रबार काठमाडौंको भोटाहिटीस्थित अन्नपूर्ण मन्दिरको आगन घर पुनर्निर्माण कार्यको शिलान्यास गर्दै उनले संघीय सरकारले सहयोग नगरेपनि काठमाडौं महानगरपालिकाले सबै सम्पदाहरुको पुनःर्निर्माणको कामलाई अघि बढाएको दाबी गरे।
उनले महानगरपालिकाले सम्पदाहरुको पुनर्निर्माणमा आर्थिक सहयोग गर्ने तर, त्यसको संरक्षण र व्यवस्थापनको जिम्मा भने स्थानीय गुठीहरुलाई नै दिने नीति अनुसार काम भइरहेको दोहोर्याए।
‘हामीले चुनावको बेला घोषणा गरेका थियौं–काठमाडौं एउटा ऐतिहासिक शहर, सांस्कृतिक शहर। यसलाई जीवन्त बनाउनुपर्छ भनेर हामीले भनेका थियौं। यसलाई संरक्षण गर्ने, प्रवर्द्धन गर्ने र पर्यटनसँग जोड्ने भन्ने नीति लियौं’, उनले भने, ‘चुनावी घोषणापत्र अनुसार नै हामीले सबै कार्य गर्दै आएका छौं। अहिले पनि यो सम्पदा भनेको राज्यको सम्पत्ति हो। यसको संरक्षणका लागि संघीय सरकारले जिम्मेवारी लिएन। हामीले जिम्मेवारी लिएर पुनर्निर्माणको कामलाई तीव्रता दिएका छौं।’
उक्त आगन घर पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले ७६ लाख ११ हजार आर्थिक सहयोग उपलब्ध गराएको छ। जस अनुसार पहिलो किस्ताबापत २५ लाख ११ हजार निकासा भएको र यसको पुनर्निर्माणको कामको पनि शुभारम्भ गरिएको पुनर्निर्माण समितिका सचिव तीर्थ महर्जनले जानकारी दिए।
समितिका अनुसार सो आँगन घरको पुनर्निर्माणका लागि करिव साढे १ करोड बजेट लाग्नेछ। २ वर्षभित्र पुनर्निर्माणको काम सम्पन्न हुने गरी अघि बढाइएको पुनर्निर्माण समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।