आमाले
आदिमकालदेखि कात्नुभयो
श्रद्धाको धागोमा
पाँच सुताको बत्ती
र, पवित्र मनले
बालिरहनुभयो
‘पितृहरू’को नाममा
तर कहिल्यै देख्नुभएन आमाले
‘पितृलोक’को उज्यालो
बदलामा ‘पितृहरू’
‘निशाचर प्रेत’ बनेर
बत्ती निभाउँदै आए
र तर्साइरहे आमालाई
अनि आदिमकालदेखि
खसिरहनुभयो आमा
जीवनको अँध्यारो कुवामा।
आमाले
जुगौँजुग कात्नुभयो
भक्तिको धागोमा
नौ सुताको बत्ती
र, अगाध आस्थाले चढाइरहनुभयो
‘देवता’को मन्दिरमा
तर कहिल्यै देख्नुभएन आमाले
‘देवलोक’को उज्यालो
बदलामा ‘देवता’हरू
पुजारी बनेर
बत्ती निभाउँदै आए
र चिथोरिरहे आमालाई
अनि जुगौँदेखि
रक्तमुछेल भएर
ढलिरहनुभयो आमा
जीवनका भयानक सन्नाटाहरूमा।
आमाले
बर्षैँवर्ष कात्नुभयो
विश्वासको धागोमा
एक्काइस सुताको बत्ती
र असीम भरोसाले
बुझाइरहनुभयो
‘उज्यालोका यात्री’हरूलाई
तर कहिल्यै देख्नुभएन आमाले
जीवनपथको उज्यालो
बदलामा ‘यात्री’हरू
डाँका बनेर
बत्ती निभाउँदै आए
र, लुटिरहे आमालाई
अनि वर्षौँदेखि
मुर्च्छिँदै-बौरिँदै, मुर्च्छिँदै-बौरिँदै
घिस्रिरहनुभयो आमा
जीवनका भीषण गोरेटाहरूमा।
यतिखेर आमा
जीवनको धागोमा
बारुदको अबिर दलेर
अनन्त अनन्त सुताको बत्ती कातिरहनुभएको छ
आफ्नै आँखाको प्रदीप्त तेजमा
सल्किरहेको बत्तीले
हामीलाई स्वागत गर्दै
आमा बत्ती कातिरहनुभएको छ
आमा बत्ती कातिरहनुभएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।