काठमाडौं- युक्रेनी टेनिस खेलाडी सर्गेई स्टाखोव्स्कीले रुसी आक्रमणविरुद्ध लड्न स्वदेश फर्किएको बताएका छन्।
बीबीसी रेडियो ५ लाइभसँगको कुराकानीमा उनले आफूसँग युद्धको अनुभव नभएको तर आफ्नो देशको रक्षा गर्न चाहेको बताए।
उनले भने,‘मसँग बन्दुक छ र म यसलाई प्रयोग गर्न तयार छु।’ युक्रेनमा रुसको सैन्य कारबाही सुरु भएदेखि सात दिनमा करिब १० लाख शरणार्थीले युक्रेन छोडेको संयुक्त राष्ट्र शरणार्थी एजेन्सी (युएनएचसीआर)ले बिहीबार जनाएको छ।
आफ्नो ट्विटर ह्यान्डलमायुएनएचसीआर उच्चायुक्त फिलिपो ग्रान्डीले लेखेका छन् ‘केवल सात दिनमा हामीले युक्रेनबाट छिमेकी देशहरूमा १० लाख शरणार्थीहरू पलायन भएको देख्यौं।’
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा सैन्य कारबाही गर्न आदेश दिएको आठ दिन बितिसकेको छ। उनले युक्रेनका टुक्रिएका क्षेत्रहरू- डोनेट्स्क र लुहान्स्कको स्वतन्त्रतालाई मान्यता दिएपछि तनाब युद्धमा परिणत भएको छ।
यसैबीच युक्रेनी टेनिस स्टार सर्गेईले सेनामा भर्ना हुने निर्णय लिएका हुन्। ३६ वर्षिय सर्गेईले सन् २०१३ मा विम्बल्डनमा रोजर फेडररलाई हराएर सनसनीपूर्ण प्रदर्शन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।