काठमाडौं- रुसले युक्रेनमा आफ्नो लक्ष्य हासिल गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्।
बिहीबार फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनसँगको टेलिफोन वार्तामा युक्रेनले वार्तामा ढिलाइ गर्ने प्रयास गरे रुसले त्यसको जवाफ दिने पुटिनले बताए।
पुटिनले रुसले युक्रेनलाई ‘असैनिकीकरण’ र तटस्थ बनाउने बताएका छन्। वार्ताका क्रममा पुटिनले म्याक्रोनको भनाइसँग पनि असहमति जनाएका थिए, जसमा म्याक्रोनले युद्ध सुरु गर्न रुसी राष्ट्रपति जिम्मेवार रहेको बताएका थिए।
युक्रेनी तथा रुसी प्रतिनिधिमण्डलबीच बेलारुसमा बिहीबार नै दोस्रो चरणको शान्तिवार्ता हुँदैछ। एकजना युक्रेनी वार्ताकार डाभिड अराखमियाले सामाजिक सञ्जालमा युक्रेनको न्यूनतम उद्देश्य गैरसैनिकहरूलाई द्वन्द्वग्रस्त क्षेत्रबाट बाहिरिन दिन मानवीय बाटो खुला गराउनु हुने बताएका छन्।
युक्रेन छाडेर जानेहरूको सङ्ख्या १० लाख नाघेको संयुक्त राष्ट्रसङ्घले बताएको छ। रुसले भने युक्रेनसामु ‘असैनिकीकरण’ गर्न तथा क्राइमियालाई रुसी क्षेत्र मान्न माग गरिरहेको छ।
साथै पूर्वी युक्रेनका डोनेत्स्क तथा लुहान्स्कलाई पनि पृथक भएको मान्यता दिन मस्कोले भनिरहेको छ। बुधवार अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले युद्धविरामका लागि हुने कूटनीतिक प्रयासप्रति अमेरिकाको समर्थन रहने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।