काठमाडौं- युक्रेनमा अर्का भारतीय विद्यार्थीको मृत्यु भएको छ। भारतीय परराष्ट्र मन्त्रालयले यसको पुष्टि गरेको हो।
परराष्ट्र मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ती विद्यार्थीको मृत्यु प्राकृतिक कारणले भएको जानकारी दिए। उनका अनुसार ती विद्यार्थीको परिवार पनि त्यहीँ छन्।
उनका अनुसार मृत्यु हुने विद्यार्थी २२ वर्षीय चन्दन जिन्दल हुन्। उनी युक्रेनको भिन्नित्सियामा रहेको मेडिकल कलेजमा पढ्थे।
मस्तिष्कघात भएपछि उनलाई आईसीयूमा भर्ना गरिएको थियो। उनको बुधबार मृत्यु भएको हो। मंगलबार कर्नाटकका नवीन शेखरप्पाको युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा मृत्यु भएको थियो।
युक्रेनमा हजारौं भारतीय विद्यार्थी मेडिकल अध्ययनका लागि जाने गरेका छन्। गत बिहीबार रुसी सेना युक्रेनमा प्रवेश गरेपछि विद्यार्थीहरू भारत फर्कन खोजिरहेका छन्। विद्यार्थीलाई फिर्ता ल्याउन भारत सरकारले चार केन्द्रीय मन्त्रीलाई युरोप पठाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।