काठमाडौं- रुसले युक्रेनलाई आणविक हतियार प्राप्त गर्न नदिने रुसी विदेशमन्त्री सर्गेई लाभरोभले बताएका छन्। उनले तेस्रो विश्वयुद्ध विनाशकारी र आणविक युद्ध हुने बताए।
युक्रेनसँगको वार्ताको विषयमा लाभरोभले रुस युक्रेनसँगको दोस्रो चरणको वार्ताका लागि तयार रहेको तर युक्रेनले अमेरिकाको इशारा पछ्याइरहेको आरोप लगाए।
एक दिनअघि लाभरोभले युक्रेनले आणविक हतियार प्राप्त गर्न कोशिस गरिरहेको आरुोप लगाएका थिए।
‘यो ठूलो खतरा हो र यसलाई रोक्न आवश्यक छ,’ उनले भने,‘युक्रेनसँग अझै सोभियत आणविक प्रविधि छ। त्यसैले रूसले यो धम्कीलाई सफलतापूर्वक जवाफ दिनु पर्छ।’
उनले पूर्व सोभियत संघका देशहरूमा पश्चिमी देशहरूले सैन्य अड्डाहरू निर्माण नगर्न चेतावनी दिए। रूसले युक्रेनको आणविक हतियार हासिल गर्ने प्रयासलाई रोक्ने पनि उनले बताए ।
हालै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना आणविक सेनालाई विशेष सतर्कता अपनाउन आदेश दिएका छन्। अमेरिकालगायत धेरै देशले यसको आलोचना गरेका छन्।
तर, युक्रेनमा सैन्य कारबाही सुरु गर्दा पुटिनले युक्रेनको मामिलामा कुनै विदेशीले हस्तक्षेप गरे त्यसले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।