काठमाडौं- युक्रेनको राजधानी किएभका मेयरले नगरका बासिन्दाहरूलाई रुसी फौज नजिक आइरहेको भन्दै घरभित्रै रहन आग्रह गरेका छन्।
मेयर भिताली क्लित्स्कोले उक्त आग्रह गरेका हुन्। साथै उनले सहरको रक्षाका निम्ति तयारी गर्न आह्वान गरेका छन्।
‘दुस्मनले हाम्रो फौजलाई झन् झन् नजिक भेला गराइरहेको छ,’ उनले भने,‘ सहरको बाहिरी भेगमा सङ्घर्ष सुरु भइसकेको छ।’
उनले आफूहरु रुसी सेनाविरुद्ध लड्ने तयारी गरिरहेको पनि बताएका छन्। ‘हामी तयारी गरिरहेका छौं र हामी किएभको रक्षा गर्नेछौं१ आफ्नो साहस कम हुन नदिन म किएभका बासिन्दाहरूलाई आग्रह गर्छु,’ उनले भने।
हालसम्म किएभले रुसी अतिक्रमण प्रयासको प्रतिरोध गरिरहेको छ। रुसी बख्तरबन्द गाडीहरूको करिब ६५ किलोमिटर लामो लस्कर उत्तरतिरबाट किएभतर्फ अघि बढिरहेका छन्।
यता, दक्षिणी युक्रेनको बन्दरगाह सहर खेरसनमा रुसको कब्जाको बारेमा मिश्रित जानकारीहरु आएका छन्। रुसले बुधबार बिहान आफ्नो सेनाले सहर पूर्ण रूपमा आफ्नो कब्जामा लिएको दाबी गरेको छ। तर, स्थानीय अधिकारीहरूले यो सहर अझै युक्रेनको नियन्त्रणमा रहेको बताएका छन्।
युट्युबमा केही समय अघि पोस्ट गरिएको एउटा भिडियोमा रुसी सैनिकहरू सहरको केन्द्रभित्र हेरिरहेका छन्। उनीहरुसँग ट्याङ पनि छन्। सिपाहीहरूले आफ्नो हातमा ‘सेतो ब्यान्ड’ लगाएका छन्।
युक्रेन र रुसबीचको युद्धको आज सातौं दिन हो। रुसी आक्रमणले युक्रेनमा ठूलो क्षति पुर्याएको छ। युक्रेनका केही क्षेत्रहरू पनि रुसी कब्जामा छन्, तर राजधानी किएभमाथि युक्रेनको नियन्त्रण कायम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।