काठमाडौं– इतिहासका पानाहरूमा केही यस्ता किस्सा छन्, जसलाई सुन्दा आज पनि अच्चम मान्नुपर्ने अवस्था छ। तीमध्ये एउटा हो मेक्सिकोका राष्ट्रपति बनेका पेड्रो लस्कुरिनको किस्सा, जो आफ्नो पदमा केबल ४५ मिनेट मात्र रहेका थिए।
पेड्रो लस्कुरिन सन् १९१३ फेब्रुअरी १९ मा मेक्सिकोका राष्ट्रपति बनेका थिए। तर, अमेरिकी षड्यन्त्र र दबाबका कारण ४५ मिनेटपछि नै उनले पदबाट राजीनामा दिनु परेको थियो।
कुनै पनि देशको इतिहासमा सबैभन्दा कम समय राष्ट्रपति पद सम्हाल्ने व्यक्ति लस्कुरिन नै हुन्। उनीसँग सम्बन्धित यो घटनालाई ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा पनि अभिलेखीकरण गरिएको छ।
दशकौंसम्म पनि लस्कुरिनलाई ‘फ्लिटिंग प्रेसिडेन्ट’ अर्थात्, केही क्षणका लागि भएका राष्ट्रपतिको नाम दिइएको थियो। पछि यो घटनाबारे भएको जाँचबाट पत्ता लागेको थियो कि, कसरी राम्रो शिक्षा प्राप्त गरेको तर कम राजनीतिक अनुभव भएको नेता सन् १९१० देखि १९२० बीचमा भएको मेक्सिकोको क्रान्तिका क्रममा अप्रत्यासित संघर्षको शिकार भएका थिए।
इतिहासकार ग्रैजिलिया अल्तामिरानोले बताएका थिए, ‘उनलाई ४५ मिनेटका लागि सत्ता सम्हालेका नेताका रूपमा चिनिन्छ। यो कुनै पनि राष्ट्रपतिका लागि पदमा रहेको सबैभन्दा कम समय हो। कसैले पनि उनको कार्यकाललाई चान्सलरको रुपमा हेर्दैन।’
अल्तामिरानो लस्कुरिनसँग जोडिएका व्यक्तिगत विवरण पढ्ने केही शोधकर्ताहरूमध्येका एक हुन्। उनी भन्छन्, ‘लस्कुरिनले अमेरिकासँगको सम्बन्धको सबैभन्दा अप्ठ्यारो समयमा अहम् भूमिका निभाएका थिए। त्यो बेला मेक्सिकोमा हेनरी लेन विल्सन अमेरिकाको राजदूत थिए, जसलाई मेक्सिकोको इतिहासमा सबैभन्दा नराम्रो अमेरिकी राजदूत मानिन्छ।’
अर्का शोधकर्ता तथा इतिहासकार गुआदलुप विलाका अनुसार, ‘यो एउटा यस्तो कलंक थियो, जसलाई मेटाउन सकिदैन र यो प्रकरणपछि उनले आफ्नो जीवनको कैयौं वर्ष आफूलाई सही बताउन र मानिसहरूलाई वास्तवमा के भएको थियो भन्ने सुनाउनमै बिताएका थिए।’
ती दश दिन अर्थात्, ट्रयाजिक टेन
पेड्रो लस्कुरिन जुन दिन मेक्सिकोको राष्ट्रपति बने, त्यो देशका लागि सबैभन्दा अप्ठ्यारो समय थियो। ९ देखि १९ फेब्रुअरी १९१३ मा तत्कालीन राष्ट्रपति फ्रैंसिसो आई मदेरोविरुद्ध सैन्य विद्रोह भयो र सत्ता उनको हातबाट छुट्यो। १० दिनसम्म भएको यो पूरै घटनाक्रम ‘ट्रयाजिक टेन’ नामले चर्चित छ।
त्यो वर्ष मदेरोको सरकारविरुद्ध सेना अगाडि आउन थालेको थियो। उनी मेक्सिकोको ३० वर्षे इतिहासमा पहिलो पटक लोकतान्त्रिक रूपमा निर्वाचित भएर सत्तामा पुगेका थिए। उनीभन्दा पहिले जनरल पोरफिरियो डियाजले सैन्य शासनमार्फत देशमा तीन दशक राज गरेका थिए।
सरकार र सेनाबीच जारी संघर्षको क्रममा मेक्सिकोका लागि अमेरिकी राजदूत विल्सनले त्यहाँ रहेका अमेरिकी नागरिक र उनका कारोबारको सुरक्षासँग जोडिएका मागहरू सिलसिलेबार तरिकाले राखेका थिए। त्यति बेला लस्कुरिन विदेशमन्त्री थिए। यसकारण विल्सनका माग र गतिविधिले उनीमाथि सबैभन्दा धेरै दबाब सिर्जना भएको थियो। विल्सनले कैयौं पटक खुलेआम तत्कालीन राष्ट्रपति मदेरोको राजीनामा माग्नेदेखि मेक्सिकोमा सैन्य कारबाही गर्ने धम्कीसम्म दिएका थिए।
इतिहासकार अल्तामिरानो भन्छन्, ‘विदेशमन्त्रीको रूपमा उनको भूमिका सबैभन्दा महत्त्वपूर्ण रहेको थियो, किनकि त्यो समय मेक्सिकोको इतिहासमा कुनै विदेशी राजदूतले पहिलो पटक सार्वजनिक रूपमै सैन्य कारबाहीको धम्की दिइरहेको थियो।’ त्यस बखत मेक्सिकोको आधाभन्दा धेरै क्षेत्र छिमेकी देशको हातमा गइसकेको थियो। यसकारण अमेरिकाको धम्कीलाई मेक्सिकोले गम्भीरताका साथ लिइरहेको थियो।
अल्तामिरानो भन्छन्, ‘फेब्रुअरीमा जब तनाव बढ्न थाल्यो, तब विल्सनसँगै मेक्सिकोका लागि अन्य देशका राजदूतले पनि राष्ट्रपतिको राजीनामालाई नै समस्या समाधानको एक मात्र उपाय बताउन थाले।’
वासिङ्टनको अनुमति नलिइ राजदूत विल्सनले आफ्ना सहयोगी राजदूतहरूलाई मेक्सिकोको सिमानामा पहिलेदेखि नै अमेरिकी सैनिक तैनाथ रहेको जानकारी दिएका थिए। विल्सनले अन्य राजदूतसँग आफ्नो देशलाई खतरा भएका कारण सिमानामा सैनिक तैनाथ राखेको बताएका थिए। उनले भनेका थिए, ‘यदि राष्ट्रपतिले राजीनामा दिएनन् भने हमला गरिनेछ। हामीले राष्ट्रपतिको राजीनामा जसरी पनि लिनुपर्छ।’
१९ फेब्रुअरीको त्यो चर्चित ४५ मिनेट
देशमा बढिरहेको संघर्षको कारक सैनिक जनरल विक्टोरियानो हुअर्ता भएको मदेरोले आरोप लगाएका थिए। जनरल विक्टोरियानो राष्ट्रपति मदेरोको समर्थक थिएनन्।
त्यसो त, पछि जनरल विक्टोरियानोले जनरल फेलिक्स डियाज (पूर्वराष्ट्रपति पोरफिरियो डियाजका भतिज) र अमेरिकी राजदूत विल्सनसँग मिलेर मदेरोलाई राष्ट्रपति पदबाट हटाउने षड्यन्त्र रचेको खुलेको थियो। केही समयकै लागि भए पनि सत्ता हातमा लिने उनको इच्छा थियो। यही लक्ष्य पूरा गर्न लस्कुरिनलाई प्रयोग गरिएको थियो। तर, लस्कुरिनलाई यसबारे केही पनि जानकारी थिएन।
१९१३ फेब्रुअरी १८ मा विद्रोहीहरूसँगको तनाव जारी रहँदा राष्ट्रपति मदेरो र उपराष्ट्रपति जोसे मारिया पिनो सुआरेजलाई जनरल हुअर्ताका समर्थकहरूले पक्रिएका थिए। सबै कुरा आफ्नो विपक्षमा भइरहेको देखेपछि मदेरोले राष्ट्रपतिको पदबाट राजीनामा लेखेर विदेशमन्त्री लस्कुरिनलाई दिए। उक्त राजीनामा भोलिपल्ट अर्थात् फेब्रुअरी १९ मा संसद्मा पुर्याउन पनि मदेरोले लस्कुरिनलाई भनेका थिए। राजीनामाको बदला उनीहरूले आफूहरू दुवैलाई सुरक्षित रूपमा देशबाहिर पुर्याउनुपर्ने शर्त राखेका थिए।
इतिहासकार विला भन्छन्, ‘मदेरो र पिनो सुआरेज दुवैको जीवन पहिलैदेखि खतरामा थियो। उनीहरूलाई विक्टरियानो हुअर्ताले देशबाहिर लैजाने वचन त दिएका थिए, तर त्यसविपरित दुवैलाई मृत्युको सजाय दिइयो।’
लस्कुरिनले संसदमा मदेरोको राजीनामा पढे। त्यसपछि त्यति बेलाको संविधानअनुसार उनले सरकार चलाउन चाहने वा नचाहने भन्ने उनमै निर्भर थियो। यसरी लस्कुरिन राष्ट्रपति बनेका थिए। हुअर्तासँगको सम्झौतामा विश्वास गर्दै लस्कुरिनले विद्रोही जनरललाई गृहमन्त्री बनाए। तर, त्यसको ४५ मिनेटभित्र नै आफूले पनि राजीनामा दिए। अनि हुअर्ता नै मेक्सिकोको राष्ट्रपति बने। हुअर्ताले आफ्नो सरकारमा लस्कुरिनलाई समावेश गरेनन्।
त्यसको तीन दिनपछि २२ फेब्रुअरीमा मदेरो र सुआरेजलाई लेकन्बरी कारागार बाहिर मारिएको थियो। भनिन्छ, दुवैले जेलबाट भाग्ने कोसिस गरेका थिए, जसकारण उनीहरूको हत्या गर्नुपरेको थियो। लस्कुरिनलाई त्यो बेला मदेरोको ‘गद्दार’ भनियो।
अल्तामिरानो भन्छन्, ‘यो निकै विवादास्पद छ र यसलाई लिएर कैयौं विरोधी विचारहरू पनि छन्। केही यस्ता मानिसहरू छन्, जो लस्कुरिन निकै सोझा भएको र राजदूत विल्सनले त्यसको फाइदा उठाएको बताउँछन्। केहीले हुअर्ताले उनको प्रयोग गरेको बताउँछन्।’
के लस्कुरिन गद्दार थिए?
लस्कुरिन आफूले राजीनामा दिएको परिस्थितिबारे राम्रोसँग जानकार थिए। राजीनामा पत्रमा उनले अमेरिकी हमलाको खतरालाई कारण देखाउँदै लेखेका थिए, ‘जुन घटना हामी देखिरहेका छौं, यसले मलाई यस्तो स्थितिमा ल्याइदिएको छ कि मैले कानुनको दायरामा रहेर त्यो कदम उठाउनु पर्छ, जसबाट परिस्थिति केही नियन्त्रण हुन्छ। अन्यथा यसले देशको अस्तित्वमा संकट पैदा गर्न सक्छ।’
तर, अल्तामिरानोसँग जुन दस्तावेज छन्, त्यसले कम समयका लागि राष्ट्रपति बनेका लस्कुरिनलाई आफ्नो लोकप्रियता कम हुने थाहा भएको संकेत मिल्छ। अल्तामिरानोका अनुसार संसद्बाट लस्कुरिन हतास र निराह भएर आफ्नो घरमा फर्किए र एक पत्र लेखे। उनले पत्रमा भनेका छन्, ‘मलाई नराम्रोसँग धोका दिइएको छ। म जुन राष्ट्रपति र उपराष्ट्रपतिलाई बचाउने कोसिस गरिरहेको थिएँ, उनीहरूले नै मलाई धोका दिए।’
अल्तामिरानो भन्छन्, ‘केही मान्छे छन्, जो लस्कुरिनले राजीनामा दिन नहुने बताउँछन्। तर, उनको च्याम्बर सैनिकले घेरिएको थियो। उनलाई धम्की दिइएको थियो। त्यहाँ पहिलैदेखि मानिसहरू हातमा कलम थमाएर उनको हस्ताक्षरको पखाईमा बसेका थिए। सबै कुरा पहिले नै तय गरिएको थियो।’
इतिहासकार गुआदलुपे भने सबै घटना एक जना मान्छेमाथि मात्र निर्भर नहुने हुँदा घटनाको विश्लेषण गर्न आवश्यक भएको बताउँछन्। उनी भन्छन्, ‘यो एउटा ठूलो षडयन्त्र थियो। र सत्य भनेको अमेरिकी राजदूत हेनरी एल. विल्सनको हस्तक्षेप वास्तवमा घृणा गर्न लायकको थियो।’
उक्त घटनापछि लस्कुरिन पनि निर्वासनमा गएका थिए। केही वर्षपछि पुनः मेक्सिको फर्किएका उनले जीवनका कैयौं वर्ष आफ्नो नाममा लागेको 'दाग' हटाउने कोसिसमा बिताएका थिए।
बीबीसी हिन्दीमा प्रकाशित सामग्रीको भावानुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।