काठमाडौं- रुसले युक्रेनमा आफ्नो सेनाको संख्या बढाएको छ। एक सैन्य विज्ञले रुसको ७५ प्रतिशत सेना अहिले युक्रेनमा रहेको दाबी गरेका छन्।
रोयल युनाइटेड सर्भिस इन्स्टिच्युटका ल्याण्ड वारफेयर र मिलिटरी साइन्सेसका अनुसन्धानकर्ता ज्याक वाटलिङले यो जानकारी दिएका हुन्। एक वरिष्ठ अमेरिकी रक्षा अधिकारीले पनि यो संख्या उल्लेख गरेका छन्।
वाटलिङले बीबीसी रेडियो ४ को कार्यक्रममा ठूलो संख्यामा रुसी सेना बेलारुसबाट दक्षिणतर्फ सर्दै किएभमा आक्रमण गर्ने तयारी गरिरहेको बताए।
युक्रेनी राजधानी किएभतर्फ अघि बढ्दै गरेको रुसी बख्तरबन्द गाडीहरूको लामो लस्करको दृश्यले विश्वले हेरिरहेको छ भन्ने उक्तिलाई नै एउटा बिल्कुल नयाँ र डरलाग्दो अर्थ दिएको छ।
वास्तवमै विश्वभरि सबैले यो लस्कर लम्कँदै गरेको देख्न सक्छन्। यता, सघन जनसङ्ख्या भएका ठाउँहरूमा रुसले मानिसहरूलाई खाना, पानी र अत्यावश्यक आपूर्ति रोक्ने मध्ययुगीन तरिका अपनाउन थालेका विवरण आएका छन्।
यो आक्रमण सुरु हुँदा केही दिनमा वा अझ केही घण्टाभित्रै रुसको शक्तिशाली सेनाले किएभ कब्जा गरिसक्ला भन्ने ठानिएको थियो। तर, छ दिन बितिसक्दा पनि युक्रेन झुकेको छैन। उसको सेनाले पश्चिमा हतियार र गोलीगठ्ठा प्रयोग गरेर चर्को प्रतिरोध मात्रै गरेको छैन। सर्वसाधारण नागरिकहरूले पनि बन्दूक उठाएका छन् अनि टोलटोलमा प्रतिकार गर्न तथा अग्रमोर्चामा खटिन थालेका छन्।
तर, यो पछिल्लो लस्कर बिस्तारै राजधानीतर्फ अघि बढ्दै गरेको छ। विस्फोटका आवाज झन् झन् ठूला सुनिन थालेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।