काठमाडौं- युरोपमा भएका बेग्लाबेग्लै कार्यक्रममा युक्रेनका राष्ट्रपति र रुसी विदेशमन्त्रीले एकदम भिन्न प्रतिक्रिया पाए। युरोपेली संसद्को विशेष सत्रलाई सम्बोधन गर्न भिडिओ लिङ्कमार्फत् बोल्न उपस्थित हुँदा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई युरोपेली सांसदहरूले उठेर ताली बजाउँदै न्यानो अभिवादन गरेका थिए।
उनले युक्रेनलाई कसैले भंग गर्न नसक्ने अभिव्यक्ति दिएका थिए। युरोपेली संसद्को विशेष सत्रलाई सम्बोधन गर्दै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमा जे भइरहेको छ त्यो दुःखद् भएको बताए। जेलेन्स्कीले भने,‘ हामीलाई कसैले तोड्न सक्दैन, किनकि हामी युक्रेनी हौं।’
उनले युक्रेनका जनता आफ्नो भूमि, आफ्नो स्वतन्त्रता र आफ्नो जीवनका लागि लडिरहेको बताए। जेलेन्स्कीले भने,‘रूसले युक्रेनका बालबालिकाहरूलाई समेत निशाना बनाएको छ।’ उनले हिजो १६ बालबालिकाको हत्या भएको आरोप लगाए।
उनले युरोपेली संसद्लाई आफू युक्रनेसँग रहेको प्रमाणित गर्न अपिल गरेका छन् । जेलेन्स्कीले भने,‘युक्रेनलाई पछाडि छोड्ने छैन भनेर प्रमाणित गर्नुहोस्। प्रमाणित गर्नुहोस् कि तपाईं एक साँचो युरोपेली हुनुहुन्छ।’
युरोपेली संसदका सदस्यहरूले उठेर जेलेन्स्कीको प्रशंसा गरे। धेरै सदस्यहरूले युक्रेनको झण्डा भएको टीसर्ट लगाएका थिए। यसबीच जेनेभामा भएका संयुक्त राष्ट्रसंघका दुईवटा निकायका बैठकहरूलाई भिडिओ लिङ्कमार्फत् सम्बोधन गर्न उपस्थित रुसी विदेशमन्त्री सर्गेई लाभरोभलाई भने पश्चिमा देशका राजदूतहरूले बहिष्कार गरेका छन्।
ती सम्बोधनमा लाभरोभले युरोपमाथि रुसविरोधी बहुलट्टीपूर्ण गतिविधि गरिरहेको आरोप लगाएका थिए। उनले युरोपले पश्चिमा सहयोगमा परमाणुअस्त्र प्राप्त गर्न खोजिरहेको आरोप लगाउँदै अब अमेरिकी क्षेप्यास्त्रहरू युरोपबाट फर्काउने बेला आएको बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।