काठमाडौं– गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आगामी जेठ २ गते बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान सञ्चालन हुने भएको छ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्राविधिक जाँच प्रमाणित गर्न एरो थाईले यान्त्रिक परीक्षण उडान (क्वालिब्रेसन फ्लाइट) सम्पन्न गरेसँगै बुद्ध जयन्तीका दिनदेखि व्यवसायिक उडान हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ।
एरो थाईको क्यालिब्रेसन फ्लाइट सकिएसँगै नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा वैशाख १ गतेबाट परीक्षण उडान गर्ने तयारी तीव्र बनाएको छ। वैशाख १ गते नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत परीक्षण उडान गरिने पनि प्राधिकरणले जनाएको छ।
विमानस्थलबाट हवाई उडान सञ्चालन गर्न प्राधिकरणले एयरस्पेस, रुट डिजाइन, फ्लाइट प्रोसिड्योर सबै तयारी गरिसकेको र जेठ २ गते अगाडि सबै काम सकिने प्राधिकरणका महानिर्देशक ई.प्रदीप अधिकारीले बताए।
उनले राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै आकासमै होल्ड बस्नुपर्ने समस्या समाधान हुने बताए। हवाई मार्गमा आपत्कालीन अवस्था आउँदा बन्दोबस्तीका सामग्रीसहितको विमानस्थल पछ्याउँदै काठमाडौं आइरहन पर्ने बाध्यताको अन्त्य हुने पनि प्राधिकरणको दाबी छ।
गौतमबुद्व विमानस्थल अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ)को मापदण्ड अनुसार विमानस्थलमा उड्ने अधिकतम ठूलो जहाजको क्षमता अनुसार आकस्मिक अवतरणका लागि चाहिने न्यूनतम मापदण्ड बनेको अधिकारीको भनाइ छ।
त्रिभुवन विमानस्थलको भन्दा थप प्रतिकूल मौसममा पनि काठमाडौंमा अवतरण हुन नसकेका जहाज अब गौतम बुद्ध विमानस्थलमा सुरक्षित अवतरण हुन सक्नेछन्। त्यस्तै, उक्त विमानस्थलमा ल्याण्डिङ गियर नखुल्ने, तीव्र गतिमा आएको विमानको घर्षण धान्न नसक्ने, इन्धन ट्यांकमा आएका समस्या, विमानको पंखामा आएका समस्या, आगोजन्य समस्या र प्रतिकूल मौसममा समेत सुरक्षित अवतरण गर्नसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।