काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनले आणविक हतियार हासिल गर्ने प्रयास गरिरहेको बताएका छन्। उनले यो ठूलो खतरा रहेको र यसलाई रोक्न आवश्यक रहेको बताए।
समाचार एजेन्सी रोयटर्सका अनुसार उनले भने, ‘युक्रेनसँग अझै सोभियत आणविक प्रविधि छ। त्यसैले रूसले यो धम्कीलाई सफलतापूर्वक जवाफ दिनुपर्छ।’
लाभरोभको पूर्व रेकर्ड गरिएको भाषण स्विट्जरल्याण्डमा निशस्त्रीकरणसम्बन्धि संयुक्त राष्ट्र बैठकमा सुनाइएको थियो। उनले पूर्व सोभियत संघका देशहरूमा पश्चिमी देशहरूले सैन्य अड्डाहरू निर्माण नगर्न चेतावनी दिए।
लाभरोभले रूसले युक्रेनको आणविक हतियार हासिल गर्ने प्रयासलाई रोक्ने बताए। तर, सोही भेटमा युक्रेनका विदेशमन्त्री दिमित्री कुलेबाले रुसले आफ्नो देशमा अन्धाधुन्ध गोली चलाएर युद्ध अपराध गरिरहेको बताए।
उनले रुसको यो आक्रामक रवैया र नरसंहारका हतियारको प्रयोग रोक्न विशेष बैठक बोलाउन आग्रह गरे। ‘युक्रेनी आवासीय भवनहरू, किन्डरगार्टेनहरू, अनाथालयहरू, अस्पतालहरू, आपतकालीन सवारी साधनहरू, यात्रु बसहरू र देशबाट भागेका शरणार्थीहरूमा मिसाइल प्रहारको कुनै औचित्य छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।