काठमाडौं- इरानका सर्वोच्च धार्मिक नेता अयातोल्ला अलि खामेनीले युक्रेन अमेरिकाले सिर्जना गरेको संकटको शिकार भएको बताएका छन्।
उनले युक्रेनमा युद्ध अन्त्य गर्न इरानको समर्थन रहेको बताए। तर, यो सङ्घर्षको जरा सबैले स्वीकार गर्नुपर्ने उनको भनाइ छ।
युक्रेन संकटबारे खामेनीले भने,‘युक्रेनको आन्तरिक मामिलामा हस्तक्षेप गरेर, त्यहाँ रंगमा आधारित क्रान्ति सृजना गरेर, एउटा सरकारलाई ढालेर अर्कोलाई सत्तामा ल्याएर अमेरिकाले युक्रेनलाई यो अवस्थामा पुर्याएको हो। युक्रेनको संकटले अमेरिकालाई विश्वास गर्न अब सकिनन्।’
उनले युक्रेनको अवस्थाबाट महत्त्वपूर्ण पाठ सिक्नुपर्ने बताए। उनले आजको युक्रेन भोलिको अफगानिस्तान रहेको समेत टिप्पणी गरे।
‘आजको युक्रेन भोलिको अफगानिस्तान हो। युक्रेनकको सरकारमा जनताको मान्यता भएको भए यस्तो अवस्थामा हुने थिएन। तर, त्यहाँका जनताले सरकारलाई मान्यता नदिने भएकाले यो समस्या उत्पन्न भएको हो,’ उनले भने।
आणविक सम्झौतालाई लिएर अमेरिका र इरानबीच लामो समयदेखि तनाव जारी छ। यो गतिरोध डोनाल्ड ट्रम्पको कार्यकालमा अमेरिकाले आणविक सम्झौता रद्द गरेपछि सुरु भएको थियो। त्यसयता दुई देशबीच पटक–पटक वार्ता हुँदै आएको छ। तर, अहिलेसम्म यस विषयमा सहमति हुन सकेको छैन। जो वाइडेनको कार्यकालमा वार्तालाई महत्व दिइएको छ,तर समाधान हुन् सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।