काठमाडौं– १६औं एनएनआईपीए अवार्डमा २७ खेलका १५ पुरुष र १२ महिला उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)को आयोजनामा मंगलबार ललितपुरको गोदावरी नगरपालिकास्थित ब्रज बाराही मन्दिर परिसरमा भएको अवार्डमा विभिन्न २७ खेलका उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
गत वर्ष कोरोनाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका अफिसियल खेलकुद प्रतियागिताहरू नभएको हुँदा नेपाल ओलम्पिक कमिटी (एनओसी)बाट आधिकारिकता प्राप्त २७ खेलहरुलाई आधार मानेर यस पटक ती खेलका खेलाडीलाई पुरस्कृत गरिएको हो।
ब्याडमिन्टनका प्रिन्स दाहाल, बक्सिङकी सुष्मा तामाङ, बास्केटबलकी सदिना श्रेष्ठ, साइक्लिङका राजेश मगर, फेन्सिङकी अनिता कार्की, गल्फका करिष्मा शाह, आर्चरीकी ज्ञानु अवाले, एथलेटिक्सका किरणसिंह बोगटी, ह्यान्डबलका विशाल बस्नेत, हक्कीकी अन्जना चन्द, जिम्न्याष्टिकका रोशन बुढाथोकी, करातेका विप्लभ श्रेष्ठ र र्याफ्टिङ एन्ड क्यानोइङका सुमन तामाङ उत्कृष्ट खेलाडी घोषित भए।
त्यस्तै, जुडोकी सुमित्रा राई, स्कीका सफलराम श्रेष्ठ, पौडीका अनुभव सुब्बा, सुटिङका कृष्ण थापा, कबड्डी नागेश्वर थारु, टेबल टेनिसका स्यान्टु श्रेष्ठ, तेक्वान्दोकी पार्वती गुरुङ, ट्राइथोलनका हिमाल टमाटा, लन टेनिसकी अभिलाषा विष्ट, फुटबलका विराज महर्जन, भलिबलकी अरुणा शाही, भारोत्तोलनकी कमला श्रेष्ठ, उसुकी निमा घर्तीमगर र कुस्तीका सुरेश चुनारा उत्कृष्ट खेलाडी चुनिए। उत्कृष्टले अवार्डसहित जनही १० हजार रुपैयाँ प्राप्त गरे।
गोबर्द्धन ‘उत्कृष्ट पारा’ खेलाडी घोषित
तेक्वान्दो खेलाडी पलेशा गोबर्द्धन ‘उत्कृष्ट पारा’ खेलाडी घोषित भएकी छन्। उनले अवार्डसहित १० हजार रुपैयाँ प्राप्त गरिन्।
पलेशाले मंगलबार बहराइनको मानमामा भएको एसियन युथ पारा गेम्सको तेक्वान्दोमा ५७ केजी मुनी क्याटागोरी ४४ मा स्वर्ण पदक जितेकी थिइन्। एसियन युथ पारामा स्वर्ण पदक जित्ने उनी पहिलो नेपाली हुन्।
यसैवर्ष जापानमा भएको टोकियोमा भएको पारालिम्पिक्समा पनि पलेशाले दुई फाइट जितेकी थिइन्। पारा ओलम्पिकमा दुई फाइट जित्ने पनि उनी पहिलो खेलाडी हुन्।
ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित
एथलेटिक्सका पूर्वप्रशिक्षक ओलम्पियन पुष्पराज ओझा गजराज आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन्। गजराज जोशी स्मृति प्रतिष्ठानले आदर्श खेल व्यक्तित्वलाई ३५ हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ।
ओझाले पहिलोदेखि चौथो दक्षिण एसियाली खेलकुद (साग) र २३औं ओलम्पिकमा खेलाडीका रुपमा सहभागिता जनाएका थिए। उनले बेजिङ ओलम्पिक र रियो ओलम्पिकका प्रशिक्षकका रुपमा सहभागिता जनाएका थिए। राष्ट्रिय खेलकुद परिषद् (राखेप) को एथलेटिक्स प्रशिक्षकबाट केही वर्ष अघि अवकास पाएका उनी अहिले त्रिभुवन आर्मी क्लबमा आबद्ध छन्।
नेपाली महिला टोलीलाई एनएनआइपीएले विशेष सम्मान
एभिसी एसियन सेन्ट्रल जोन महिला भलिबल च्याम्पियन नेपाली महिला टोलीलाई एनएनआइपीएले विशेष सम्मान गरेको छ।
महिला टोलीले गत पुषमा बंगलादेशको ढाकामा सम्पन्न भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को रोमाञ्चक सेटमा सानदार जित निकाल्दै उपाधि रक्षा गरेको थियो।
यसअघि नेपालले २०१९ मा माल्दिभ्सलाई हराउँदै एक सेट पनि नगुमाई उपाधि जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।