काठमाडौं– धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनकरूपमा बढ्दै गएको छ। गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको सङ्ख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालु आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ।
सिडिएस एण्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणानुसार हाल डिम्याट खाताको संख्या ५० लाख सात हजार २४२ छ। त्यस्तै डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्यासमेत बढेको छ। सिडिएसका अनुसार मेरो सेयरको संख्या ४१ लाख नाघेको छ। विवरणानुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य बढेको देखिन्छ।
गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो सेयरको संख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ। धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको भनाइ छ।
प्राथमिक बजारतर्फ प्राथमिक निष्कासन, हकप्रद निष्कासन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरी सबै निष्कासन अनुमति रकममा उच्च बढोत्तरी आएको छ । कम्पनीको आइपिओे निष्कासनमा भाग लिनेको सङ्ख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ । पछिल्लो समय कम्पनीले निष्कासन गर्ने आइपिओमा २६ लाखभन्दा बढीले आवेदन गर्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।