काठमाडौं– सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरुमार्फत् २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सोमबार सिंहदबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा यसबारे जानकारी दिइन्। उनले अघिल्लो आर्थिक वर्षमा करिव ९ अर्ब रुपैयाँ मात्रै विदेशी सहयोग आएको स्मरण गराइन्।
मन्त्री रेग्मीले समाज कल्याण परिषद् र मन्त्रालय बीचमा काम गर्ने सवालमा दोहोरोपन देखिएको र त्यसलाई हटाउन आफूले एकद्वार प्रणाली लागू गरेको दाबी गरिन्। दातृ संस्थाहरुले मुलुकको लागि केही दिँदैछन् भने हामीले अफठ्यारा झन्झटिला प्रक्रियालाई हटाउनुपर्ने उनको भनाइ छ।
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद दिनानाथ शर्माले गैरसरकारी संस्थाहरुलाई पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए। गैरसरकारी संस्थाहरुमा अपारदर्शिता बढ्दै गएको उल्लेख गर्दै उनले नियमन गर्नुपर्ने बताए।
सांंसद शर्माले नेपालमा गैरसरकारी संस्थामा बजेट कहाँबाट कसरी आउँछ केही ठेगान नै नभएको दाबी समेत गरे।
त्यस्तै, नेपाली कांग्र्रेसका सांसद रमेशजंग रायमाझीले अहिले समाजकल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाए। उनले पछिल्लो चार महिनामा २९ अर्ब वैदशिक सहयोग कसरी आयो भनेर मन्त्री रेग्मीलाई प्रश्न गरे।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरुको यकीन डाटा नभएको बताए। गृह मन्त्रालयले त्यसको डाटा लिने काम गरेपनि नवीकरण नगरी खारेज हुने संस्थाहरुका कारण सो काम पनि सफल हुन नसकेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।