काठमाडौं– प्रतिनिधि सभाबाट एमसीसी सम्झौता अनुमोदन भएकोमा नेपाल उद्योग वाणिज्य महासंघले स्वागत गरेको छ।
सोमबार विज्ञप्ति जारी गर्दै महासंघले व्याख्यात्मक घोषणाकासाथ सम्झौता अनुमोदन भएकाले अब यसका विषयमा रहेका सबै भ्रमहरु चिरिने विश्वास लिएको जनाएको छ।
अब सम्झौता अनुसार विद्युत प्रसारण लाइन निर्माण र सडक मर्मतको काम सुरु हुने र परियोजना पूर्णरुपमा कार्यान्वयनको चरणमा जाने महासंघले विश्वास लिएको छ।
'नेपालको विकासमा रणनीतिक महत्त्व राख्ने विद्युत प्रसारण लाइन र सडक मर्मत आयोजना समयमै निर्माण सम्पन्न गर्न सक्दा उच्च आर्थिक वृद्धिलाई सघाउ पुग्ने हाम्रो विश्वास छ', महासंघले भनेको छ, ' कोभिड १९ ले सिर्जित परिस्थितिका कारण आन्तरिक स्रोत खुम्चिएको छ भने वैदेशिक सहायता पनि अपेक्षाकृत बढन सकेको छैन। सम्झौता कार्यान्वयन हुँदा महामारीपछि अर्थतन्त्रको पुनरुत्थानमा सहयोग पुग्नुका साथै दीर्घकालमा विद्युत निर्यात एवं प्रविधि हस्तान्तरणको समेत ढोका खुल्नेछ।'
एमसिसी अन्तर्गतका आयोजना सुरु भएको ५ वर्षभित्र सम्पन्न गर्नुपर्ने व्यवस्थाले विकास सुशासनका लागि समेत नमूना बन्न सक्ने महासंघले बताएको छ। अब यसबाट प्रतिफल लिन सम्झौता कार्यान्वयनका लागि गठित मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसीए) ले तदारुकताका साथ काम गर्नुपर्ने उसको भनाइ छ।
'तीन दर्जन बढी मुलुकमा एमसीसी अन्तर्गत परियोजना निर्माण भइसकेकाले नेपालमा पनि सहज कार्यान्वयन हुनेमा निजी क्षेत्र विश्वस्त छ। पूर्वाधार विकास, आर्थिक वृद्धि र रोजगारी सिर्जनाका कुनै पनि क्रियाकलाप कुनै पनि बहानामा प्रभावित हुनु हुँदैन भन्नेमा महासंघ स्पष्ट छ', महासंघले भनेको छ, '
सम्झौता अनुमोदनबाट समग्रमा नेपालमा लगानीको वातावरण रहेको संदेश विश्व समुदायसम्म पुग्ने र यसबाट भविष्यमा अन्य वैदेशिक लगानी एवं सहायता समेत भित्रिने विश्वास महासंघको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।