मालाका – फिफा विश्वकप फुटबल प्रतियोगिता २०१८ को एसिया छनोटको चौथो चरणमा अस्ट्रेलियालाई युद्धग्रस्त मुलुक सिरियाले १–१ गोलको बराबरीमा रोकेको छ।
बिहीबार मलेसियाको मालाकामा भएको खेलमा अस्ट्रेलियाका लागि ४० मिनेटमा रोबी क्रुसले गोल गरेर अग्रता दिलाए। तर खेल सकिन पाँच मिनेट बाँकी छदा सिरियाका ओमर अल सोमाले पेनाल्टीमार्फत बराबरी गोल फर्काए।
म्याथ्यु लेकीले उपलब्ध गराएको लामो क्रसमा क्रुसले क्लोज रेन्जबाट गोल गरेका थिए। क्रुसले सन् २०१५ पछि अस्ट्रेलियाका लागि गोल गरेका हुन्। दोस्रो हाफ सुरु भए लगत्तै अस्ट्रेलियाले अग्रता दोब्बर पार्ने अवसर खेर फाल्यो। सिरियाका डिफेन्डरको गल्तिमा टोमीले गोल गर्ने अवसर पाएका थिए। तर उनको प्रहार क्रसबारमा लाग्यो।
खेलमा पछि परेको सिरियाका अल सोमाको हेडर पनि क्रसबारमा लाग्यो। यस्तै अल खातीफको प्रहार पोलमा लागेको थियो। खेलको अन्त्यतिर अल सोमालाई अस्ट्रेलियाका लेकीले फल गरेपछि रेफ्रिले पेनल्टी दिए। प्राप्त अवसरमा सिरियाका अल सोमा चुकेनन्।
आगामी मंगलबार सिड्नीमा हुने दोस्रो लेगबाट एसियाबाट अन्तरमहादेशीय प्ले अफ खेल्ने टिमको टुंगो लाग्नेछ । जित हात पार्ने सिरिया वा अस्ट्रेलियाले उत्तर अमेरिका छनोटको चौथो स्थानमा रहने टिमसँग प्रतिस्पर्धा गर्ने छ। होम एन्ड अवेमा हुने उक्त खेल जित्ने टिम विश्वकपमा छनोट हुनेछ।
एसियाबाट यसअघि नै जापान, साउदी अरेबिया, दक्षिण कोरिया र इरानले एक वर्षपछि रसियामा हुने विश्वकपमा स्थान पक्का गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।