काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले गए राति रुसी सेनाले आफूलाई पक्राउ गर्न खोजेको दाबी गरेका छन्।
एक भिडिओ सन्देश जारी गर्दै उनले आफूलाई पक्राउ गरेर आफ्नो पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना रहेको बताए। तर, उक्त योजना युक्रेनी सुरक्षा बलले विफल बनाइदिएको उनको दाबी छ।
‘मलाई पक्राउ गरेर मेरा पक्षका नेतालाई राष्ट्रपति बनाउने रुसी योजना थियो। तर, हामीले त्यो योजना असफल बनाएका छौं,’ जेलेन्स्कीले भने।
उनले युक्रेनमाथिको आक्रमण रोक्नका लागि आफ्ना राष्ट्रपति भ्लादिमिर पुटिनमाथि दबाव सिर्जना गर्न रुसी जनतालाई आग्रह गरेका छन्।
युक्रेनी सेनाले किएभ र वरपरका सहरहरू आफ्नो नियन्त्रणमै राखेको उनले बताए। आफ्नो देशसँग युरोपेली सङ्घको सदस्य हुने अधिकार समेत रहेको उनको तर्क छ।
अझैसम्म युरोपेली सङ्घको सदस्य नरहेको युक्रेनको संविधानमा युरोपेली समूहमा सहभागिता जनाउने आकाङ्क्षा व्यक्त गरिएको छ।
यसैबीच किएभका नगर प्रमुख भिताली क्लित्स्कोले युक्रेनको राजधानीमा साँझ ५ बजेदेखि बिहान ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेका छन्। यसअघि राति १० बजेबाट बिहान ७ बजेसम्म कर्फ्यू लागु गरिएको थियो।
ट्वीट गर्दै क्लित्स्कोले भनेका छन्, ‘कर्फ्यूको समयमा सडकमा देखिने जोकोही सर्वसाधारणलाई शत्रु समूहको सदस्य मानिनेछ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।