काठमाडौं- अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यहारमा परिवर्तन गरेकाले अर्थतन्त्रमा जटिलता थपिँदै गएको अर्थविद्हरूले बताएका छन्।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागले काठमाडौंमा आयोजना गरेको नेपाली अर्थतन्त्रमा नयाँ चुनौतिहरू र समाधानको उपाय खोजी विषयक अन्तरक्रियामा कार्यक्रममा अर्थविद्हरूले अर्थतन्त्रका सूचकहरुले आफ्नो व्यहारमा परिवर्तन गर्दा जटिलता थपिएको बताएका हुन्।
उनीहरुले अर्थतन्त्र अहिलेको अवस्थामा हुन सरकारको नीतिगत व्यवस्था मुख्य कारण भएको औल्याए।
सरकारले प्रसाशनिक खर्च बढी गर्ने तर अर्थतन्त्र चलायमान बनाउनको लागि पुँजीगत खर्च गर्न नसक्ने भएकाले समस्या आएको उनीहरुको भनाइ छ।
पूर्वअर्थमन्त्री डा.रामशरण महतले प्रसाशनिक खर्च बढेको तर पुँजीगत खर्च कम भएकाले अर्थतन्त्रमा समस्या देखा परेको बताए।
उनले सरकारले पुँजीगततर्फ बजेट कम विनियोजित गर्ने गरेको उल्लेख गरे। महतले पछिल्लो समय भएको बजेट पनि कम खर्च हुने र खर्चको बजेट पनि सदुपयोग हुन नसक्दा रोजगारी सिर्जना हुन नसकेको उल्लेख गरे। उनले सरकारले पुँजीगत खर्च बढाएर अर्थतन्त्रमा अहिले देखिएको तरलताको समस्या कम गर्नु पर्ने उललेख गरे।
'नेपालको दुभाग्यपूर्ण कमजोरी के छ भने प्रसाशनिक खर्च(करेन्ट एक्सपेन्डीचर) बढेको छ। तर पुँजीगत खर्च (क्यापिटल एक्सपेन्डीचर) एकदमै कम रहेको छ। कम हुँदा हुँदै पनि बजेट घोषणा गरेको छ। घोषणा गरेको बजेट पनि खर्च हुन सकेको छैन' उलने भने , ' बजेटमा जति आयोजना घोषणा गरेको छ त्यसको १२/१५ प्रतिशत भन्दा बढी खर्च भएको छैन।'
बजेटमा प्रसाशनिक खर्च घटाउनुपर्ने भन्दै उनले भने, ' अहिले प्रसाशनिक खर्च बढाएको छ। अब सरकारले प्रसाशनिक खर्च घटाएर पँजीगत खर्च बढाउनु पर्छ। बजेट कार्यान्वयन दक्षतापूर्ण भए मात्रै आर्थिक गतिविधि वृद्धि हुन्छ। त्यस्तै सरकारले दक्षजनशक्ति बढाएर प्रसाशनिक कार्य क्षमता पनि बढाउनु जरुरी छ।'
त्यस्तै, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले उद्योगमा लगानी बढाउनको लागि अब उद्योगको लागि जग्गा निशुल्क दिनु पर्ने बताए।ठूला उद्योगमा लगानी बढाउनका लागि जग्गा उपलब्ध नगराए समस्या हुने बताए।
पाण्डेले एक अर्बको उद्योग बनाउनको लागि १० अर्ब रुपैयाँको जग्गा किनेर कसैले पनि उद्योगमा लगानी गर्न नसक्ने बताए।
सरकारले अब अर्थतन्त्रलाई सवल बनाउनको लागि पूर्वधार निर्माणका आयोजना घोषणा मात्रै नभएर समयमा नै निर्माण सम्पन्न गर्नु पर्ने उल्लेख गरे। पाण्डेले एक पटकमा धेरै आयोजनाहरु घोषणा गर्ने तर काम नगर्ने प्रवृतिले अर्थतन्त्रमा समस्या आएको तर्क गरे।
'मुलुकको अर्थतन्त्र सवल बनाउनको लागि सरकारले आजसम्म पूर्वधार निर्माणमा गरेका प्रयासहरुमा रिभिजिट गर्नु पर्छ। सरकारले एकैचोटी १००/२००/४०० वटा आयोजनाहरु घोषणा गर्ने त्यसको लागि पैसा पुग्दैन' उनले भने, 'त्यसपछि पशुपतिका पाहुनालाई टिका लगाएर दिएजस्तो दुई रुपैयाँ चार रुपैयाँ दिउँ भनेको जस्तो। त्यसपछि सबै आयोजना एकैचोटी सुरु गरेको छ । कुनैले काम पुरा गर्न सक्दैन।'
अर्थविद् प्रा.डा. विश्वम्भर प्याकुरलले अर्धवार्षिक समिक्षामा बजेटको आकार घटाउँदा देशको अर्थतन्त्र संकुचनतर्फ गएको बताए। उनले कोरोनाका कारण मुद्रास्फीतिदर बढ्दै गएको र भारतमा गरिएको अध्ययनले ३ महिना अझ मुल्यवृद्धि हुने देखिएको हुँदा नेपालमा महंगी दोहोरो अंकमा पुग्ने उल्लेख गरे।
योजना आयोगका पूर्व उपाध्यक्ष डा.डिल्ली खनालले आयात बढे पनि अर्थतन्त्र माथि जान नसकेको बताए। उनले अहिलेको अर्थतन्त्रको अवस्था हेर्दा ४ प्रतिशत पनि आर्थिक वृद्धिदर हुन नसक्ने देखिएको बताए।
पछिल्लो समयमा अर्थतन्त्रमा नयाँ जटिलता थपिएकाले सरकार नयाँ ढङगले लाग्नु पर्ने बताउनु पर्ने उनको भनाइ छ। वर्तमान सरकारले बजेट प्रतिस्थापन गर्दा टालटुले ढङगले ल्याएकाले पनि अर्थतन्त्रमा समस्या देखा परेको आरोप लगाए।
योजना आयोगका पूर्व उपाध्यक्ष डा. पुष्पराज कँडेलले सरकारले राजश्व उठाएर खर्च गर्न नसक्दा अर्थतन्त्रमा समस्या आएको बताए।
कोरोना महामारी तथा अस्थिर राजनीतिको कारण पनि सरकारले खर्च गर्न नसेको उनको भनाइ थियो। डा.कँडेलले कर्मचारी प्रसाशनमा काम गर्ने प्रवृति परिर्वतन नभएसँग पुँजीगत खर्च बढाउन समस्या देखिएको बताए।
त्यस्तै नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले पछिल्लो समय अर्थतन्त्रमा विभिन्न विकृति विसङगती बढ्दै गएको बताए। उनले अर्थतन्त्रमा समस्या भए पनि पछिल्लो समय श्रीलङकाको जस्तो अवस्थामा पुग्ने टिप्पणी भए पनि त्यस्तो अवस्था नआउने दाबी गरे। चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत नहुने अवस्था आएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।