काठमाडौं- रुसी सेना युक्रेनको राजधानी किएभतर्फ तीव्र गतिमा अघि बढिरहेको छ। यस्तो अवस्थामा युक्रेन सरकारले स्थानीय जनतालाई रुसी सैनिकसँग लड्न सक्दो प्रयास गर्न अपिल गरिरहेको छ।
युक्रेनको रक्षा र आन्तरिक मन्त्रालयहरूले किभमा बस्ने सर्वसाधारणहरुलाई रुसी सेनाको गतिविधिको बारेमा जानकारी गराउन, पेट्रोल बम तयार गर्न र शत्रुलाई मार्न आह्वान गरेका छन्।
युक्रेनको आन्तरिक मन्त्रालयले पनि आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा पेट्रोल बम बनाउने जानकारी दिएको छ।
किएभमा स्वयम्सेवकहरूलाई १८ हजार मेसिन गन दिइएको मन्त्रालयका सल्लाहकारले बताए। ‘हातमा हतियार लिएर राजधानी जोगाउन चाहने सबैलाई दिइएको छ,’ उनले भने।
युक्रेन सरकारले राजधानीलाई रुसी सेनाबाट जोगाउन युक्रेनी सैन्य गाडीहरू पनि किएभ प्रवेश गरिरहेको जनाएको छ। राजधानीका जनतालाई सुरक्षाको कारणले किएभमा आउने सैन्य उपकरणलाई सामाजिक सञ्जालमा सार्वजनिक नगर्न पनि अपिल गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।