काठमाडौं- अफगानिस्तानको सत्तारुढ तालिवानले युक्रेनको अवस्थालाई निगरानी गरिरहेको बताएको छ।
शुक्रबार युक्रेनको अवस्थाबारे एक विज्ञप्ति जारी गर्दै तालिवानले अफगानिस्तानले युक्रेनको अवस्थालाई निगरानी गरिरहेको र सर्वसाधारणको ज्यान जाने सम्भावित क्षतिप्रति चिन्तित रहेको जनाएको छ।
तालिवानले दुवै पक्षलाई संयमता अपनाउन अपिल गरेको छ। ‘हिंसा बढाउने खालका कदमहरूबाट सबै पक्ष टाढा रहनुपर्छ। आफ्नो निष्पक्ष विदेश नीतिलाई ध्यानमा राख्दै दुवै पक्षलाई वार्ता र शान्तिपूर्ण माध्यमबाट संकट समाधान गर्न अपील गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।
अफगानिस्तानले युक्रेनमा रहेका अफगानी नागरिक र आप्रवासीहरूको जीवन रक्षामा ध्यान दिन सम्बन्धित सबैलाई अपिल गरेको छ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनी पृथकतावादीहरूको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिएका छन्।
त्यसपछि पूर्वी युक्रेनमा सेना पठाउने निर्णय गरेका थिए। बिहीबारदेखि युक्रेनमा लडाई सुरु भइसकेको छ। रुसी सेनाले युक्रेनको धेरै ठाउँमा आक्रमण गरिरहेका छन्।
युक्रेनले अहिलेसम्म आफ्ना १३७ जना मानिस मारिएको जनाएको छ। युक्रेनले पनि जवाफी कारबाहीमा ४५० भन्दा बढी रुसी सैनिक मारिएको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।