काठमाडौं- क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले युक्रेनसँग वार्ता गर्न रुस तयार रहेको बताएका छन्।
रुसको सरकारी समाचार एजेन्सी आरआईए नोवोस्तीका अनुसार प्रवक्ता पेस्कोभले बेलारुसको राजधानी मिन्स्कमा युक्रेनसँग वार्ता गर्न आफूहरु तयार रहेको बताएका हुन्। तर, यी वार्ताहरू युक्रेनलाई तटस्थ स्थिति घोषणा गर्नुका साथै सेना घटाउने विषयमा हुनेछन्।
युक्रेन नाटोमा सामेल नहोस् भन्ने रुस चाहन्छ। युक्रेन संकटका सम्बन्धमा रुसले अमेरिका र अन्य पश्चिमी देशहरूसँग वार्ता गरिरहेको बेला पनि रुसको मुख्य माग युक्रेनलाई नेटोमा समावेश नगर्नु नै थियो।
युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ताका लागि आह्वान गरेका छन्।
यसअघि रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी सेनाले हतियार नदिएसम्म वार्ता हुन नसक्ने बताएका थिए।
मिन्स्क किन महत्त्वपूर्ण छ?
क्रेमलिनका प्रवक्ताले मिन्स्कमा वार्ताको कुरा गरेका छन्। रुस र युक्रेनबीचको सम्बन्धको हिसाबले यो स्थान महत्त्वपूर्ण छ।
पूर्वी युक्रेनमा रुस समर्थक विद्रोही र युक्रेनी सेनाबीचको रक्तपातपूर्ण द्वन्द्वपछि सन् २०१४ मा मिन्स्क–१ र २०१५ मा मिन्स्क–२ सम्झौता भएको थियो।
सन् २०१५ को फेब्रुअरीमा बेलारुसको राजधानी मिन्स्कमा रुस, युक्रेन, जर्मनी र फ्रान्सका नेताहरूको उपस्थितिमा यो सम्झौतामा हस्ताक्षर भएको थियो।
यसअन्तर्गत रुस समर्थक पृथकतावादीहरूले कब्जामा लिएका क्षेत्रमा शान्ति स्थापनाका लागि कदम चाल्नुपर्ने थियो। अब रुसको आक्रमणलाई मिन्स्क सम्झौताको उल्लङ्घनका रूपमा हेरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।