काठमाडौं- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनी जनतालाई दमनबाट मुक्त गराउने उद्देश्यले सैन्य कारबाही गरिएको बताएका छन्।
राजधानी मस्कोमा आयोजित पत्रकार सम्मेलनमा विदेशमन्त्री लाभरोभले युक्रेनी जनतामाथि दमन भइरहँदा रुस चुप लागेर बस्न नसक्ने बताए।
उनले भने, ‘युक्रेनको सरकारलाई लोकतान्त्रिक सरकारका रूपमा लिने अवसर हामी अहिले देखिरहेका छैनौं। यस कारबाही पश्चात युक्रेनी जनताले आफ्नो भविष्य निर्धारण गर्न सक्ने छन्।’
रुसले भर्खरै युक्रेनी पृथकतावादीहरुको नियन्त्रणमा रहेको दुई क्षेत्रलाई मान्यता दिएको छ। विदेशमन्त्री लाभरोभले राष्ट्रपति भ्लादिमिर पुटिनको कुरालाई दोहोर्याउँदै भने,‘ मस्को युक्रेनलाई गाँस्न चाहँदैन, तर यसलाई असैनिकीकरण गर्न चाहन्छ।’
के रुसले प्रजातान्त्रिक देशलाई पतन गर्न चाहन्छ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले युक्रेनलाई लोकतान्त्रिक भन्न नसकिने बताए।
युगोस्लाभिया, इराक र लिबिया जस्ता देशहरूमा पश्चिमी हस्तक्षेप भइरहेको उनको दाबी छ। प्रजातन्त्रको नाममा यी देशमा हजारौं मानिस मारिएको उनको बताए।
यसैबीच रुसको विदेश मन्त्रालयले एक भिडियो जारी सार्वजनिक गरेको, जसमा विदेशमन्त्री लाभरोभले डोनेट्स्क र लुहान्स्कका प्रतिनिधिहरूसँग भेटेको देखिन्छ।
डोनेस्क र लुहान्स्क रुसी समर्थित पृथकतावादीहरूको नियन्त्रणमा छन्। राष्ट्रपति पुटिनले यी दुई क्षेत्रलाई छुट्टै स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।