काठमाडौं– सत्यजित राय जीवित भएका भए अहिले एक शताब्दीभन्दा धेरै उमेर बाँचिसकेका हुन्थे। उनी जीवित नभए पनि उनका सिनेमाहरु जीवित छन्। सदाबहार लोकप्रिय छन्। रायको फिल्म ‘पाथेर पञ्चली’ हेरेपछि चर्चित जापानी निर्देशक अकिरा कुरोसावाले भनेका छन्, ‘सत्यजित रायका सिनेमा नहेरी बाँच्नु भनेको घाम नहेरी बाँच्नुजस्तै हो, जून नरेही बाँच्नुजस्तै हो।’
रायको निधन सन् १९९२ मा भएको थियो। उनले करिब ३० वटा फिचर फिल्म बनाएका छन्। यी फिल्महरु भारतीय समाजको चित्रण मात्रै नभएर विभिन्न आर्थिक र सामाजिक विषयमाथि सत्यजित रायले लिएका अडान पनि हुन्। सन् १९६३ मा प्रदर्शन भएको सत्यजित रायले बनाएको फिल्म ‘महानगर’मा यस्तै विषय समेटिएका छन्।
सन् १९६४ मा भारतको सञ्चार तथा प्रसारण मन्त्री इन्दिरा गान्धी थिइन्। त्यतिबेला रायले बनाएको फिल्मलाई समाजविरुद्ध पूर्वाग्रह लिएर बनाइएको आरोप लागेको थियो। उक्त फिल्मविरुद्ध संसददेखि सडकसम्म आवाज उठेको थियो। तर, इन्दिरा गान्धीले यी आरोपहरु आधारहीन भएको भन्दै उनको बचाउ गरिन्।
भारतको ११औँ फिल्मफेयर अवार्डमा पनि उनको फिल्म महानगरले समस्या भोग्नु परेको थियो। विवादका कारण उक्त फिल्मलाई प्रारम्भिक सूचीमै राखिएन। तर, रायको पहिलो फिल्म पाथेर पञ्चलीजस्तै महानगरले पनि अन्तर्राष्ट्रिय स्तरमा सफलता हासिल गरेको थियो। उनले बर्लिन फिल्म फेस्टिभलमा उत्कृष्ट निर्देशकको अवार्ड पाएको थियो। त्यसपछि यसलाई भारतमा पनि रुचाउन थालियो।
सामाजिक आर्थिक अवस्थाको चित्रण
दोस्रो विश्वयुद्धको अन्त्यपछि संसारभरि थुप्रै सामाजिक र आर्थिक परिवर्तन आएका थिए। सन् १९५० को दशकमा समाज लैंगिक समानताको पक्षमा अघि बढिरहेको थियो। यो परिवर्तन अन्तर्राष्ट्रिय र पश्चिमा जगतमा मात्रै सीमित थिएन। भारतमा पनि यसका बाछिटा आइपुगेका थिए। रायको फिल्म महानगरमा यिनै परिवर्तन संग्रहित छन्।
विश्वव्यापी अवस्था बदलिरहँदा सन् १९५० को मध्यतिर भारतको कलकत्तामा व्यापक परिवर्तन आइरहेको थियो। आर्थिकदेखि सामाजिक रूपमा समाज रुपान्तरण भइरहेको थियो। रायले सन् १९६३ मा यही विषयलाई पक्रिएर फिल्म निर्माण गरे।
‘महानगर’ फिल्मले एक सामूहिक बंगाली परिवारको आँखाबाट बदलिँदो कलकत्ताको परिवर्तनलाई प्रस्तुत गरेको छ। फिल्ममा एक रिटायर्ड स्कुल मास्टर प्रियगोपाल (हरेन चटर्जी अभिनित), उनकी श्रीमती सरोजिनी (सेफलिका देवी अभिनित), छोरा सुब्रत मजुम्दार (अनिल चाटर्जी अभिनित), उनकी श्रीमती आरती (माधवी मुखर्जी अभिनित)को आँखाबाट फिल्म देखाइएको छ। उनीहरुको नाजुक आर्थिक अवस्थादेखि समाजमा भइरहेको आर्थिक रुपान्तरणको कथा फिल्ममा छ।
शहरको कुनै सानो बैंकमा सुब्रत निम्नस्तरको कर्मचारी छ। उसको कमाइले सामान्यभन्दा सामान्य आवश्यकता पूरा गर्न पनि संघर्ष गर्नुपर्छ। यस्तो अवस्थामा ऊ बुबाको लागि चस्मा किन्नसमेत संघर्ष गरिरहेको हुन्छ।
श्रीमान् र श्रीमतीबीच आर्थिक अवस्थालाई लिएर संवादहरु हुन्छन्। घरको आर्थिक अवस्था उकास्न श्रीमती आरतीले पनि काम गर्ने निर्णयमा पुग्छन्। अब उनी जागिरका लागि आवेदन दिन थाल्छिन्।
सुब्रत आफ्नी श्रीमतीलाई भर्खरै खुलेको सिलाइ मेसिनसम्बन्धी कम्पनीमा ‘सेल्स गर्ल’को काम दिलाउन सफल हुन्छ। यो कम्पनीको मुख्य ध्यान धनी मानिसहरुमा हुन्छ। यो जागिरका कारण घरको आर्थिक रुपान्तरण हुन थाल्छ।
तर, पश्चिमा समाजमा भइरहेको परिवर्तनको बाछिटाको प्रभाव यहाँ नकारात्मक हुन्छ। भारतीय समाजमा समानताको परिभाषा पश्चिमा समाजमाभन्दा फरक छ। महिला र पुरुषबीचको असमानताको प्रभावका कारण कुनै घरको आर्थिक आर्जनको कारक महिला छिन् भने त्यसलाई नकरात्मक रुपमा प्रस्तुत गर्ने चलन हुन्छ।
आरतीको जीवनमा पनि यस्तै हुन्छ। उनी काममा जान थालेपछि श्रीमानसहित परिवारका सदस्य उनको नयाँ दैनिकीलाई लिएर असन्तुष्ट हुन्छन्। सामाजिक मान्यताको असर उनीहरुमा देखिन्छ। ससुरा प्रियगोपालको आरती र सुब्रतसँग एक किसिमको शीतयुद्ध चल्छ। आरती सुन्दर युवती भएको र काममा गएकोमा उनीहरुको आपत्ती छ। पारिवारिक असन्तुष्टि र असहयोगका बीच पनि आरती आफ्नो पेशाप्रति जिम्मेवार छिन्।
जब आरतीको झोलामा सुब्रतले लिपिस्टिक भेटाउँछ, कथाले नयाँ मोड लिन्छ। सुब्रत अब उनीप्रति शंका गर्न थाल्छ। आरतीलाई उसको मालिक (हरधन बेनर्जी अभिनित)ले कारमा घर छाडिरहेको देखेपछि त उसले यसलाई झनै शंकाको विषय बनाउँछ।
अब सुब्रतको चाहना आरती काममा नगए हुन्थ्यो भन्ने देखिन्छ। तर, ऊ भन्न सक्दैन। किनकि घरको आर्थिक अवस्था परिवर्तन गर्न आरतीको योगदान उसकोभन्दा धेरै हुन्छ। त्यति नै बेला सुब्रतले काम गर्ने बैंक बन्द हुनु र जागिर गुमाउनुले पनि ऊ आरतीमाथिको शंकालाई बढाएर जागिरबाट छुटाउन सक्दैन। श्रीमानले नै लगाइदिएको जागिर गर्दा ऊ नै सन्तुष्ट नभएको जस्तो आरतीले पनि महसुस गरिरहेकी हुन्छिन्। पारिवारिक तनावका बीच आरती आफ्नो काम छाड्ने निर्णयमा पुग्छिन्। तर, त्यो निर्णय कार्यान्वयन हुनुअघि सुब्रत उनलाई फोन गरेर जागिर नछोड्न भन्छ।
व्यक्तिगत सम्बन्ध र बजारवादले पारेका प्रभावलाई रायले आरती र सुब्रतको नजरबाट प्रस्तुत गरेका छन्। साधारणभन्दा साधारण विषयलाई पनि फिल्ममा गजबसँग प्रस्तुत गरिएको छ। आरतीको तलबको विषयदेखि पूरै परिवारले देख्ने सपनामा तत्कालीन समाजको प्रतिबिम्ब छ।
आरती जागिर गरिरहँदा जब सम्भ्रान्त परिवारहरुको घरमा छिर्छिन्, त्यहाँको अवस्थाले उनी र ग्राहकको आर्थिक र सामाजिक असमानता देखाउँछ। त्यहाँ बजिरहेको संगीतले ग्राहकको सम्पन्नतालाई प्रस्तुत गर्छ। त्यहाँ महिलाको स्वतन्त्र अवस्था र छोराछोरीको निस्फिक्रीपन बेग्लै संसार हो।
आरती र उनको परिवारले कुनै दिन धेरै पैसा कमाउने सपना देख्छन्। सन्तानलाई खुसी बनाउने सपना देख्छन्। आरतीका ससुरा प्रियगोपाल आफ्नी श्रमतीलाई कुनै ठूलो पुरस्कार जितेर केप कोमोरिन (कन्याकुमारीको एक क्षेत्र जहाँ सम्पन्नहरुको बसोबास थियो) लैजाने सपना देख्छन्। तर, यर्थाथमा उनीहरुको सपना पूरा गर्न गरिएका संघर्ष व्यर्थ भइरहेका हुन्छन्। निर्देशक रायले यी ‘सपनाहरू’लाई दृश्यमा ल्याउँदा जीवन्त बनाएका छन्।
लैंगिक समानताको लागि संघर्ष
सन् १९५० को दशक त्यो समय थियो, जब महिलावादका विभिन्न चरणहरु परिदृश्यमा आएका थिए। पहिलो चरणमा लैंगिक समानताअन्तर्गत भोट गर्ने अधिकार र सम्पत्तिको अधिकारलाई उठाइएको थियो। दोस्रो लहरमा महिलाको यौनिकता, परिवारजस्ता विषयसँगै अन्य कानुनी समानता र कार्यक्षेत्रमा महिलामाथिको विभेदको विषय उठाइएको थियो। यस चरणमा पश्चिमा देशहरुमा महिलामाथि हुने घरेलु हिंसा र वैवाहिक बलात्कारजस्ता विषयमा वकालत गरिएका थिए। तर, भारतमा यो लहरको प्रभाव धेरैपछि मात्र देखिएको थियो।
भारतमा पहिलो र दोस्रो चरणको महिलावादको मिसमास प्रभाव देखिन्छ। महिलाहरुको अधिकारका लागि संघर्ष भइरहेको थियो भने घरेलु हिंसा र वैवाहिक बलात्कारजस्ता विषयविरुद्ध वकालत पनि भइरहेको थियो। भारतीय समाजमा यी विषय नयाँ थिए। तर, तत्कालीन कला, साहित्य र सिर्जनाहरूमा यसको चित्रणले भने ठाउँ पाएको थियो।
महानगरले महिलावादसँगै पुँजीवाद र बजारवादको विपक्षमा उभिने आरतीको कथा भन्छ। आरती न परिवारको दास बन्छिन्, न व्यवस्थाको। परिवारकै लागि उनले स्वतन्त्रताको पक्षमा कदम चालेकी हुन्छिन्।
महानगरमा पनि रायले यो विषय उठान गरेका छन्। घरका पर्खालहरुभित्र थुनिएका महिला बाहिर निस्किएर कार्यक्षेत्रमा आफ्नो प्रभाव जमाउने विषय फिल्ममा देखिन्छ। आर्थिक आर्जन र सामाजिक उत्थानको विषयमा महिलाले पनि उत्तिकै योगदान दिन सक्छन् भन्ने भाष्य फिल्मले निर्माण गरेको छ।
महानगरले महिलावादसँगै पुँजीवाद र बजारवादको विपक्षमा उभिने आरतीको कथा भन्छ। आरती न परिवारको दास बन्छिन्, न व्यवस्थाको। परिवारकै लागि उनले स्वतन्त्रताको पक्षमा कदम चालेकी हुन्छिन्।
फिल्ममा आरती र उनकी सहकर्मी इडिथबीचको तुलनात्मक प्रस्तुती छ, जसले परिवर्तनलाई देखाएको छ। आरतीको विद्रोहलाई प्राकृतिक रुपमा प्रस्तुत गरिएको छ। विपरीत ध्रुवमा इडिथको कार्यक्षेत्रको व्यवहार र उनको लवाइखवाइजस्ता पक्षहरुले पश्चिमा रहनसहनको झल्को दिन्छ। भारतीय समाजकी महिला आफ्नो अधिकारका लागि संघर्ष गरिरहेको प्रस्तुत गरिएको छ भने पश्चिमा समाजकी महिला त्योभन्दा धेरै अघि भएको देखाइन्छ।
सुन्दरताका विषय, लिपिस्टिकजस्ता सौन्दर्यका साधनको प्रयोगबाट इडिथ र पश्चिमा समाजमा भएको परिवर्तनलाई प्रस्तुत गरिएको छ। इडिथ आफ्नो नियमहरुमा चलेकी हुन्छिन्। तर, घरबाट भर्खर बाहिर निस्किएकी आरती आफ्नो अधिकारका लागि लडिरहेकी हुन्छिन्।
बंगाली समाजमा महिला नैतिकताको विषयलाई दिइने महत्त्वलाई पनि फिल्ममा प्रस्तुत गरिएको छ। रुढीवादी मान्यताको आडमा निर्माण गरिएको नैतिकताको परिभाषालाई आरतीले तोडेकी छिन्।
०००
सत्यजित रायका फिल्मबारे समय–समयमा चर्चा भइरहन्छन्, किनकि यी चर्चालायक छन्। ‘महानगर’ पनि चर्चा भइरहने फिल्म हो। यो फिल्ममा सन् १९५० को दशकको कथा प्रस्तुत गरे पनि अहिलेको समाजसमेत त्यहाँबाट टाढा छैन। फिल्मको नाम ‘महानगर’ भएजस्तै यसले थुप्रै विकासोन्मुख (सम्भवतः भारतीय र नेपाली समाजमा विकसित) नगरको कथा भन्छ।
फिल्म विश्लेषक तथा समीक्षक रोजर इब्रटले ‘महानगर’बारे भनेका छन्, ‘मलाई रायका फिल्महरुलाई ‘विदेशी फिल्म’ भनेर हेर्नमा धेरै समस्या छ। यी विदेशी फिल्म होइनन्। बरु, भारतीय मान्छेबारे बनेका फिल्म हुन्, र म भारतीय होइन। तर, रायका पात्रहरुसँग म हलिउडका पात्रहरुसँग भन्दा धेरै समानता पाउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।