रसुवा– नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले वाम गठबन्धन गरेसँगै यी पार्टीले रसुवामा संयुक्त कार्यक्रम गरेका छन्।
वाम गठबन्धन बनाएर निर्वाचनमा तालमेल र निर्वाचनपछि पार्टी एकता गर्ने सहमति गरेका दलले बिहीबार जिल्लाको कालिकास्थानमा संयुक्त कार्यक्रम गरेका हुन् । भेलामा सहभागी जिल्ला तहका नेताहरुले केन्द्रीय नीतिको कार्यान्वयनको सुरुवात गरिएको बताएका छन् । आगामी दिनमा एकजुट भएर अघि बढ्ने बताउँदै उनीहरुले तीनबुँदे प्रतिबद्धता समेत व्यक्त गरेका छन्।
जिल्लाभरका नेता, कार्यकर्ता र शुभेच्छुकलाई एकजुट भई अघि बढ्न सामूहिक आह्वान समेत गरिएको नेताहरुले बताएका छन् । रसुवाबाट राम्रो अभ्यास सुरु गरिने बताउँदै एमाले रसुवाका अध्यक्ष कर्णेल लामाले भने, ‘प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा एकजुट भई गठबन्धनको जुनसुकै नेता उम्मेदवार उठे पनि जिताउने निर्णय भएको छ।’
एमाले, माओवादी र नयाँ शक्तिबीच असोज १७ गते बृहत् एकताको घोषणा भएको थियो । सो घोषणालाई जिल्ला तहमा कार्यान्वयन गर्न अभियान सुरु गरिएको सांसद जनार्दन ढकालले बताए।
भेलामा सहभागी आगामी दिनमा गठबन्धनका नेता तथा कार्यकर्तालाई सम्मानपूर्ण व्यवहार गर्न र सहकार्यका लागि आग्रह गरेका छन् । भेलालाई एमालेका वैकल्पिक केन्द्रीय सदस्य माधव अर्याल, माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् जिल्ला अध्यक्ष इन्द्र गौतम जगतजंग, नयाँ शक्तिका केन्द्रीय सचिवालय सदस्य तेम्ब्रेल तामाङ र जिल्ला संयोजक प्रेम तामाङ लागयतले सम्बोधन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।