काठमाडौं– शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चैत १ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ।इन्स्योरेन्सले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ३ कित्ता (१०ः३)को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो।
यसअनुसार इन्स्योरेन्सले एक सय रुपैयाँ अंकित दरका ५२ करोड ७५ लाख ५७२ रुपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गर्नेछ।
हकप्रद निष्कासनका लागि इन्स्योरेन्सले माघ २१ गते सेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो। यसअनुसार माघ २० गतेसम्म नेप्सेमा कारोबार भइ कायम यस इन्स्योरेन्सका सेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।
इन्स्योरेन्सको हकप्रद सेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा शिखर इन्स्योरेन्सका रजिष्टर्ड तथा सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। यसका साथै धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोसेयर सफ्टवेयरमार्फत चैत २१ गतेसम्म आवेदन दिन पाउनेछन्।
क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्युअर रेटिङ ए प्रदान गरेको छ। यसले वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित रहेको संकेत गर्दछ।
हाल १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको यस इन्स्योरेन्सको चुक्ता पूँजी हकप्रद निष्कासनपछि २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।