काठमाडौं- कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन्।
मन्त्रालयका अनुसार हालसम्म एक करोड ८४ लाख ३८ हजार १५१ पहिलो मात्रा खोप लगाएका छन्। यस्तै एक करोड ७२ लाख ३५ हजार ९३८ ले पूर्णमात्रा खोप लगाएका छन्। हालसम्म चार करोड ७८ लाख ८२ हजार ८०० मात्रा खोप प्राप्त भएको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या नौ हजार ६७८ छ। सक्रिय सङ्क्रमितमध्ये नौ हजार ४०६ होम आइसोलेसन, २७२ संस्थागत आइसोलेसन, ९३ आईसियू र १७ जना भेन्टिलेटरमा छन्।
हालसम्म कोरोनाका कारण ११ हजार ९३१ जनाले ज्यान गुमाएका छन्। मन्त्रालयका अनुसार काठमाडौं, ललितपुर र कास्कीमा ५०० भन्दा बढी सक्रिय संक्रमित छन्। यस्तै मोरङ, झापा, सुनसरी, धनुषा, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, बाँके, रुपन्देही र कैलालीमा २०० भन्दा बढी सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।