काठमाडौं- रुसका राष्ट्रपति भ्लादमिर पुटिनले पूर्वी युक्रेनको डोनबास क्षेत्रमा 'सैन्य कारबाही'को घोषणा गरेसँगै उक्त क्षेत्रमा केही शक्तिशाली विस्फोट सुनिएको छ।
जारी तनावबीच छलफल गर्न संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को आपत्कालीन बैठक बसिरहेकै बेला रुसी राष्ट्रपतिले टेलिभिजन सम्बोधनमार्फत् पछिल्लो घोषणा गरेका हुन्। यसअघि युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले वार्ताका लागि आफूले गरेको पहलबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुनै जबाफ नदिएको बताएका थिए।
राष्ट्रपति जेलेन्स्कीले युक्रेनसँगको सीमानजिकै रुसले 'झन्डै २ लाख सेना र हजारौँ लडाकु गाडी तैनाथ गरेको' बताएका छन्।
बिहीवार बिहानको सम्बोधनका क्रममा पुटिनले पूर्वी युक्रेनमा तैनाथ गरिएका सेनालाई हतियार त्याग्न आग्रह गरेका छन्। बीबीसीका पूर्वी युरोप संवाददाताका अनुसार डोनेट्स्क क्षेत्रमा ठूलो विस्फोटनको आवाज सुनिएको छ।
दक्षिण पश्चिमी रुसमा पनि एउटा विस्फोटको आवाज सुनिएको विवरण आएको छ। कियभस्थित बीबीसी संवाददाता पल एडम्सका अनुसार पाँचदेखि छ वटा विस्फोटनको आवाज सुनिएको छ। देशका अन्य विभिन्न भागहरूमा पनि विस्फोटन भइरहेका विवरण आएको उनले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।