काठमाडौं– बेलायतमा कोभिड रोकथामका लागि लगाएका सबै प्रतिबन्ध बिहीबार (फेब्रुअरी २४) देखि हटाइएको प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।
बेलायतले जनवरीदेखि नै अनिवार्य मास्क लगाउने र संक्रमण नियन्त्रणका लागि अपनाइएका कडा खालका प्रतिबन्धात्मक उपायहरूलाई अन्त्य गरिसकेको थियो।
प्रधानमन्त्री बोरिस जोन्सनले गरेको नयाँ घोषणापछि बिहीबारदेखि नै विद्यालय, कलेज तथा बाल हेरचाह संस्थाका कर्मचारीले हप्तामा दुईपटक कोरोना परीक्षण गराउनु पर्ने यस पहिलेको प्रावधान हट्नेछ। त्यसैगरी, कसैलाई कोभिड पुष्टि भए पनि छुट्टै (एकान्त) मा बस्नु पर्ने छैन।
प्रधानमन्त्री जोनसनले अप्रिल १ देखि देशमा निःशुल्क कोरोना परीक्षण पनि बन्द हुने बताएको समाचारहरुमा उल्लेख छ।
सरकारको निर्णय सार्वजनिक भएसँगै विज्ञहरूले भने उक्त घोषणाले संक्रमण जोखिम बढाउन सक्ने बताएको बीबीसीले उल्लेख गरेको छ। मानिसहरु मास्क बिना हिँड्न थालेमा कोरोना द्रुत गतिमा बढ्ने र यो घातक हुने उनीहरूले बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।