काठमाडौं- रुसको पछिल्लो कदमपछि अमेरिका, बेलायत, युरोपेली युनियन र हंगेरी जस्ता देशले कडा र कडा आर्थिक प्रतिबन्ध लगाएका छन्।
यी प्रतिबन्धहरूले रुसलाई पक्कै असर गर्नेछ। तर, अमेरिकाका लागि रुसी राजदूत अनातोली एन्टोनोभले यी प्रतिबन्धहरूले अमेरिकालाई पनि असर गर्ने बताएका छन्।
रुसको रिया नोवोस्ती न्यूज एजेन्सीलाई दिएको अन्तर्वार्तामा उनले पश्चिमा राष्ट्र र अमेरिकाले लगाएको प्रतिबन्धले विश्व बजारमा असर पर्ने बताए।
‘यसबाट अमेरिकीहरूको हितमा पनि असर पर्नेछ। हामीमाथि लगाइएको प्रतिबन्धले विश्वव्यापी वित्तीय र ऊर्जा बजारलाई नोक्सान पुर्याउने कुरामा कुनै शंका छैन,’ उनले भने।
उनले यो प्रतिबन्धको बावजुद रुसलाई आफ्नो विदेश नीति परिवर्तन गर्न बाध्य नहुने समेत बताएका छन्।
यता, अमेरिकाले रुसमाथि लगाएको आर्थिक नाकाबन्दीले तुलनात्मक रूपमा धेरै जोखिम उठाउनु नपर्ने विज्ञहरू बताउँछन्। तर, अमेरिकी राष्ट्रपति जो वाइडेन आफैँले रुसमाथि प्रतिबन्ध लगाएको प्रतिबन्धले ऊर्जाको मूल्यमा असर पर्ने बताउँछन्।
यसै क्रममा वाइडेनले रुसी अर्थतन्त्रका केही अंशलाई अन्तर्राष्ट्रिय वित्तीय प्रणालीबाट हटाइने पनि बताएका छन्। यससँगै अमेरिकाले रुसको उच्च वर्ग र उनीहरुका परिवारमाथि पनि प्रतिबन्ध लगाउन सक्ने सम्भावना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।