काठमाडौं– नेपाली कांग्रेसको कार्य सम्पादन समिति बैठकले लोकतान्त्रिक मोर्चा निर्माणलाई केन्द्रीय समितिबाट अनुमोदन गरेर मात्र अघि बढ्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकबाट लोकतान्त्रिक मोर्चा निर्माणलाई वैधानिकता दिएर अघि बढ्ने निर्णय गरेको कांग्रेस नेता प्रकाशशरण महतले जानकारी दिए।
आगामी निर्वाचनमा मात्र केन्द्रित नभई दीगो रुपमा मोर्चा कायम हुनेगरी अघि बढ्नुपर्ने नेताहरुले धारणा राखेको महतले जनाए।
बैठकमा सरकार बिस्तारदेखि मोर्चा निर्माणका लागि गठित कार्यदलको जिम्मेवारीका विषयमा समेत छलफल भएको अर्का नेता पूर्णबहादुर खड्काले बताए। सरकारबाट माओवादी केन्द्रका मन्त्री हटाउने विषयमा भने कुनै निर्णय नभएको उनले जानकारी दिए।
आफ्नो अगुवाइमा निर्माण हुन लागेको मोर्चामा सांसद संख्या ३ सयमाथि देखिएकाले माओवादीका मन्त्रीलाई तत्काल हटाउनुपर्ने कांग्रेसभित्रै आवाज उठेको थियो।
४ घन्टासम्म चलेको बैठक आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कसरी वामपन्थी गठबन्धनलाई परास्त गर्ने भन्ने विषयमा केन्द्रित रहेको खड्काको भनाइ छ।
नेपाली कांग्रेसले नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच वामपन्थी गठबन्धन निर्माण भएपछि त्यसलाई चुनौती दिने उद्देश्यले लोकतान्त्रिक मोर्चा निर्माणको तयारी थालेको थियो।
बुधबार कांग्रेसले आफ्नो अगुवाइमा राजपा, संघीय समाजवादी, राप्रपा, राप्रपा प्रजातान्त्रिक र फोरम लोकतान्त्रिकसँग छलफल गरेको थियो। उक्त छलफलपछि दलहरु चुनावी सहकार्यका लागि कार्यदल गठन गर्ने सहमतिमा पुगेका थिए।
मोर्चाभित्र सहभागी हुने दलहरुको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा निरन्तर आन्तरिक छलफलमा छन्।
कार्यदलको बैठक अनौपचारिक छलफलमै सीमित
लोकतान्त्रिक मोर्चा निर्माणका लागि बुधबार गठन भएको कार्यदलको पहिलो बैठक अनौपचारिक कुराकानीमै सीमित भएको छ।
कार्यदलमा नेपाली कांग्रेसका तर्फबाट विमलेन्द्र निधि, मिनेन्द्र रिजालसँगै राजपाका सर्वेन्द्रनाथ शुक्ला, संघीय समाजवादीका रामसहाय यादव, फोरम लोकतान्त्रिकका गोपाल दहित, राप्रपाका वुद्धिमान तामाङ र राप्रपा प्रजातान्त्रिकका विक्रम पाण्डे सदस्य छन्।
उपत्यका बाहिर रहेका निधि र शुक्ला सहभागी हुन नसकेपछि बिहीबारको बैठकले ठोस निर्णय गर्न नसकेको कांग्रेस नेता रिजालले जानकारी दिए। शुक्रबार पुनः बैठक सबेर सिटको बाँडफाँटबारे छलफल गर्ने उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।