काठमाडौं– प्रहरी सेवाबाट राजीनामा दिएका डिआइजी नवराज सिलवाल शुक्रबार नेकपा एमाले प्रवेशगर्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यले बताइरहँदा गृहका सम्बन्धित अधिकारी भने उनको राजीनामा आफ्नो टेवलसम्मै नआएको बताउँछन्।
प्रहरी प्रधान कार्यालयले डिआइजी सिलवालको राजीनामा आएको केही दिनमै स्वीकृतिका लागि गृहमा पठाए पनि गृहको मानव स्रोत व्यवस्थापन महाशाखामा नपुगेको हो। महाशाखा प्रमुख सहसचिव ईश्वरराज पौडेलले सिलवालको राजीनामाको विषयमा आफूलाई कुनै जानकारी नआएको बताए। उनले भने, ‘उहाँको राजीनामा पत्र मेरो टेवलसम्म आएकै छैन।’
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपानेले डिआइजी सिलवालको राजीनामा सम्बन्धी पत्रको जवाफ गृहबाट आइनसकेको जानकारी दिए।
‘हामीले पत्र गृहमा पठाएका थियौं, जवाफ आएको छैन, लगातारको सार्वजनिक बिदाले केही अलमल भएको होला,’ डिआइजी न्यौपानेले भने।
डिआइजी सिलवालको राजीनामा स्वीकृत नभएकाले शुक्रबार उनी एमाले प्रवेश गर्न पाउने छैनन्। प्रहरी नियमावलीले बहालवाला प्रहरी अधिकारीलाई राजनीतिक दलको सदस्य बन्न रोक लगाएको छ। यदि त्यसो गरेमा नियमावली अनुसार सिलवाल कारबाहीको भागिदार हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।