आइफोनका जन्मदाता स्टिभ जब्सको निधन ६ वर्षअघि आजकै दिन भएको थियो । उनी सफल व्यापारी मात्र नभई जीवनप्रति सकारात्मक सोच राख्ने व्यक्ति थिए । उनले गरेका हरेक निर्णय महत्वपूर्ण सावित भएकाले उनको दूरदर्शिताको अझै पनि चर्चा गरिन्छ।
स्टिभको निधन ५६ वर्षको उमेरमा सन् २०११ मा प्यान्क्रियाटिक क्यान्सरका कारण भएको थियो । मृत्युशय्यामा हुँदा उनले भनेका थिए, ‘जिन्दगी चलाउन पैसा चाहिन्छ । तर, आज यो बेडमा जिउँदो लाश झैं सुतिरहँदा म आफ्नो विगत सम्झिन्छु । जीवनमा मैले नाम र पैसा सबै कमाएँ, तर मृत्यु नजिकै आइपुग्दा यी सबै मिथ्या रहेछन् भन्ने लागिरहेको छ।’
उनले अगाडि भनेका छन्, ‘आज म अँध्यारोमा ‘लाइफ सपोर्टिङ’ मेसिनको ग्रिनलाइट हेरिरहेको छु । साथै ईश्वर भएको पनि महसुस गरिरहेको छु । मलाई मृत्यु नजिकै आइसकेको महसुस भइरहेको छ । सबैलाई भन्न चाहन्छु, जब तपाईं जीवनको उत्तर्राद्धमा पुग्नुहुन्छ, आफूले जम्मा गरेको सम्पत्ति परिवार, बच्चा र कला-संस्कृतिमा आफूले देखेको सपना पूरा गर्न खर्चिनुहोस् । सधैं र लगातार पैसा कमाउने बानीले म जस्तै सबैलाई विकृत व्यक्ति बनाउनेछ।’
स्टिभ जब्स बिरामी हुँदा आफू सुतेको ओछ्यान (सिक बेड) लाई विश्वकै सबैभन्दा महँगो बेड भन्ने गर्थे । उनी भन्थे, ‘हिँडडुल गर्न सबैले ड्राइभर मगाउन सक्छन् । तर, बिरामी भएर सुतेको व्यक्तिले आफ्नो रोग बोकिदिने अरु कोही मान्छे किन्न सक्दैन । यसको दुःख आफैंले भोग्नुपर्छ । तपाईं हरेक कुरा दोहोर्याएर प्राप्त गर्न सक्नुहुन्छ, आफ्नो अमूल्य जीवनबाहेक।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।