काठमाडौं- पर्यटन भिसामा यूएई पुगेर अलपत्र परेका आठ जनालाई उद्धार गरिएको छ। यूएई पठाउने टोखास्थित ट्रिपलस्टार इम्प्लोइमेन्ट प्रालिले नै उनीहरुको उद्धार गरेको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले तत्काल उद्धार गर्न चेतावनी दिएपछि म्यानपावरले आज उद्धार गरी नेपाल ल्याएको मन्त्रालयले जानकारी दिएको छ।
यसरी नेपाल फर्कनेमा तनहुँका राजीव सुनुवार र ज्ञानेन्द्र रानाभाट, गोरखाका सुनिल पन्थ र रमेशजंग शाह, डडेलधुराका शिवराज पन्त, मोरङका चिरायु सरदार, सुर्खेतका झकबहादुर थापा र संखुवासभाका सन्तोष चम्लागाई रहेका छन्। यूएईको ग्लोबल सेक्युरिटी कम्पनीमा रोजगारी लगाइदिने भन्दै १२ जना नेपालीबाट सात लाख ५० हजार रुपैयाँका दरले रकम लिएर यूएई पठाइ अलपत्र पारेको उजुरीका आधारमा म्यानपावरका सञ्चालक भीम गुरुङलाई मन्त्रालयले गठन गरेको ‘मार्सल टोली’ले पक्राउ गरेको थियो।
यसैबीच, केही समयअघि साउदी अरेबियामा बिरामी परी अलपत्र परेका जाजरकोटका आइस रानाको साउदी अरबको जेद्धामा स्वास्थ्य उपचार गरी आज स्वदेश फर्काइएको छ। श्रममन्त्री श्रेष्ठको पहलमा नेपाली दूतावासका कर्मचारी र श्रम सहचारीको टोलीले उनको उद्धार गरी स्थानीय अस्पतालमा उपचार गराएको थियो। रानासहित साउदी अरवमा अलपत्र परेका चार जना नेपालीलाई आज स्वदेश फिर्ता गरिएको साउदीस्थित नेपाली काउन्सिलर शत्रुधन पोखरेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।