काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ संयुक्त अरब ईमिरेट्स (यूएई) जाने भएका छन्। त्यहाँ अलपत्र परेका नेपाली कामदारको 'व्यवस्थापन'का लागि भन्दै मन्त्री श्रेष्ठ आगामी साता यूएई जान लागेका हुन्।
वैदेशिक रोजगारीको प्रलोभनमा परी पर्यटन तथा अन्य भीसामा यूएई गइ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनका बिषयमा यूएई सरकारसँग फलफल गर्न मन्त्री श्रेष्ठ त्यसतर्फ जान लागेका उनको सचिवालयले जानकारी दिएको छ। नेपाली नागरिकलाई यूएईमा अलपत्र पार्ने संस्था तथा व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन र पीडितलाई कसरी न्याय दिलाउने भन्ने विषयमा मन्त्री श्रेष्ठले आइतबार नेपालका लागि यूएईका राजदूत साइद हमदान अल नाकीसँग मन्त्रालयमा छलफल समेत गरेका जनाइएको छ।
भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा यूएई गइ अलपत्र परेका नेपालीहरुको समस्या समाधानमा सहयोग गर्न राजदुत साइदसँग आग्रह गरेका उनको सचिवालयले जनाएको छ।
मन्त्री श्रेष्ठले अलपत्र परेका नेपालीहरुलाई यूएईमै रोजगारीको अवसर प्रदान गर्ने, भीसा अवधि सकिएर बढी शुल्क बुझाउनुपर्ने वा गैरकानुनी रुपमा बस्नुपर्ने बाध्यता भएकाहरुलाई आममाफी दिनुपर्ने तथा उद्धार गर्नुपर्नेहरुलाई नेपाल फिर्ता गर्ने क्रममा यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको बताए।
नक्कली मागपत्र बनाउने, झुटो आश्वासन र रोजगारीको प्रलोभन देखाएर प्रचलित कानुनले तोकेको प्रकृयाभन्दा बाहिरबाट नेपालीलाई यूएई पुर्याउने कार्यमा संलग्न व्यक्तिलाई कारबाहीको दायरामा ल्याउन पनि यूएई सरकारबाट सहयोगको अपेक्षा गरिएको मन्त्री श्रेष्ठको भनाइ थियो।
राजदूत साइदले अलपत्र परेका नेपालीलाई यूएईमा नै रोजगारी दिलाउन तथा उद्धार गर्नुपर्नेहरुलाई पनि आवश्यक सहयोग गर्ने बताए। मन्त्री श्रेष्ठको यूएई भ्रमणको क्रममा नेपाल–यूएई संयुक्त समितिको बैठक पनि आयोजना हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।