सहरको छेउबाट
बगिरहेको ढल
र, त्यसले फिँजाइरहेको मल
त्यति दुर्गन्धित देखिन्न
जति देखिन्छ
नामुद व्यापारीको
गिलासमा कलम चोपलिरहेको
पत्रकारको अनुहार!
फतफती कुहिएको सिनोमा
झुत्ती खेलिरहेका गिद्दहरू
र, त्यही बतास बोकिरहेको आकाश
त्यति प्रदूषित हुँदैन
जति हुन्छ
सत्यको पत्र उप्काउन छाडेर
जग्गा दलाली गरिरहेको
शिक्षकको अनुहार!
घाममा पल्टेर
गुप्ताङ्गको काप कन्याइरहेको
लुते कुकुरको अदपको गति
त्यति विकृत देखिन्न
जति देखिन्छ
विकृत नालीमा पौडँदै
पुरस्कारको अड्डातिर अदपसाथ धाइरहेको
कविको अनुहार!
बहुराष्ट्रिय कम्पनीले
उत्सर्जन गरिरहेको क्लोरोफ्लोरो कार्बन
र, यसका घातक प्रभावहरू
त्यति विषाक्त हुँदैनन्
जति हुन्छ
सत्ताको आयुसँग
मुलुकको अस्मिता साटिरहेको
नेताको अनुहार!
अस्पतालको डम्पिङ साइडमा
वर्षौँदेखि थुप्रिरहेका
सेफ्टीप्याड, पिप र रगतका फाल्साहरू
त्यति घिनलाग्दा देखिन्नन्
जति देखिन्छ
विवेकलाई बन्धकी राख्दै
तबेलामा घाँस खाइरहेको
बुद्धिजीवीको अनुहार!
र, यी भयानक जुगुप्साहरूका बीचमा पनि
मस्त निदाइरहनु
एउटा सर्वाधिक बीभत्स दृश्य हो!
हाम्रो समयले
तमाम बीभत्सताहरूमाथि
तेजाब खोजिरहेको छ
के तपाईं त्यसको निम्ति तयार हुनुहुन्छ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।