काठमाडौं- आगामी वैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्ने प्रस्ताव राखेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'लाई लक्षित गरेर नेकपा एमाले प्रश्न गरेको छ। गत वर्ष एमालेले ताजा जनादेशको माग गर्दा 'प्रतिगमन' भन्दै आन्दोलित भएको समेत सम्झाएको छ।
असल मनसायबाट नभइ स्थानीय तहको निर्वाचनलाई पर धकेल्न अर्ली निर्वाचनको 'कार्ड' फ्याँकिएको एमालेको ठरह छ। आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको वक्तव्यमा भनिएको छ, 'यो प्रस्ताव कुनै असल मनसायले होइन। स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्योल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ।'
एमाले गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएकाले अहिले पनि यही मान्यतामा अडिग रहेको बताइएको छ। 'हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं। साथै, हाम्रो स्पष्ट अडान छ- यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन', एमाले अध्यक्ष केपी शर्मा ओलीले वक्तव्यमार्फत् भनेका छन्।
जनताको बीचमा जानुलाई 'प्रतिगमन' र जनादेशविपरीत जस्केलाबाट सरकार बनाउनुलाई 'अग्रगमन' भन्ने भाष्य निर्माण गरिएको एमालेले जनाएको छ।
प्रचण्डप्रति लक्षित गर्दै प्रश्न गरिएको छ, 'प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष नै हुनुपर्छ भन्ने तर्क गर्दै यसको पुनर्स्थापनालाई 'संविधानको जित'का रूपमा व्याख्या गर्ने नेताहरू आज कुन नैतिकता, कुन तर्क र कुन आधारमा 'अर्ली इलेक्सन' को कुरा गर्दैछन्? यसो गर्नुअघि उनीहरूले गत वर्ष सडक आन्दोलनका नाममा प्रदर्शन गरेको अराजकताका लागि जनतासँग क्षमायाचना गर्नु पर्दैन?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।