मन्त्री रेणुकुमारी यादव।
काठमाडौं- नेकपा एमालेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवलाई पदमा राखिरहनु अत्यन्त आपत्तिजनक भनेको छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार जारी गरेको आठ पृष्ठको वक्तव्यमा अन्य विषयका अतिरिक्त मन्त्री यादवको अभिव्यक्तिको आलोचना गरिएको छ।
‘एक जना मन्त्रीबाट जनमत पार्टीका नेताहरुलाई ‘गौर काण्ड’ जस्तै घटना दोहोर्याएर हत्या गर्न धम्की दिइएको छ। यस्तो कार्य आपत्तिजनक, आपराधिक र बर्बरतायुक्त छ। यस्तो अभिव्यक्ति दिने व्यक्तिलाई हालसम्म पनि कारबाही नगरी पदमा बहाल राखिरहनु अत्यन्त आपत्तिजनक छ’, वक्तव्यमा भनिएको छ।
गत बुधबार मन्त्री यादवले गौर पुगेर १५ वर्षअघिको जस्तै ‘गौर काण्ड’ दोहोर्याउने धम्की दिएकी थिइन्। सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तातर्फ लक्षित भाषणमा उनले भनेकी थिइन्- ‘तुफानसँग नटकराउनुस्। नत्र तपाईंको पनि त्यही हालत हुन्छ, जुन राइस मिलमा भएको थियो।’
२०६३ चैत २७ गते तत्कालीन मधेसी जनअधिकार फोरमले माओवादीका २७ कार्यकर्ताको हत्या गरेको घटनाका रुपमा गौर नरसंहार चर्चित छ।
एकै ठाउँमा (राइस मिलमा) कार्यक्रम गर्ने फोरम र माओवादीको हठका कारण उत्पन्न द्वन्द्वकापछि माओवादी कार्यकर्ताको हत्या गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।