फाइल तस्बिर: पोखरा रंगशाला।
कास्की- मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित ‘आहा रारा गोल्ड कप’ फुटबल प्रतियोगिता यस वर्ष रंगशालामा दर्शकविनै सञ्चालन हुने भएको छ।
पोखरा रंगशालामा यही माघ ६ देखि १५ गतेसम्म सञ्चालन हुने २०औँ संस्करणको प्रतियोगिता बढ्दो कोरोना भाइरस संक्रमण जोखिमका कारण दर्शकविनै सञ्चालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो।
‘खेलकुद विकासमा सहकार्य गरौँ, पोखरालाई खेलकुद पर्यटन सहरका रुपमा स्थापित गरौँ’ भन्ने नाराका साथ सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगितामा नेपालका ए डिभिजनका क्लब, आयोजक सहारा र एक विदेशीसहित १० टोलीको सहभागिता रहने क्लबका अध्यक्ष हरिराम गुरुङ (सुरज)ले जानकारी दिए। उनले मोफसलको उत्कृष्ट प्रतियोगिता भएकाले कठिन अवस्थामा पनि यसलाई निरन्तरता दिन र प्रशासनको आग्रहअनुसार यस वर्ष टिकट बिक्री नगरिने जानकारी दिए।
प्रतियोगिताको विजेताले १० लाख एक हजार रुपैयाँ र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्। यसैगरी उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने बताइएको छ। यसैगरी प्रत्येक खेलमा ‘म्यान अफ दि म्याच’लाई आठ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ। उक्त पुरस्कारको प्रायोजन सहारा यूकेले गरेको छ।
यसैगरी प्रतियोगिताको उद्घाटन समारोहमा सर्वोत्कृष्ट राष्ट्रिय फुटबल खेलाडी सम्मान-२०७८ बाट एक जना राष्ट्रिय खेलाडीलाई ३५ हजार रुपैयाँसहित प्रमाणपत्र र दोसल्लाबाट सम्मान गरिने क्लबले जनाएको छ।
प्रतियोगितामा संकटा फुटबल क्लब, मछिन्द्र क्लब, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा क्लब, थ्रिस्टार क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब, बीवाईएससी मिनेसोटा अमेरिका र सहारा क्लब पोखराको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन खेल आयोजक सहारा र नेपाल एपीएफ क्लबका बीचमा हुने क्लबका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए।
अघिल्लो संस्करण नेपालको ए डिभिजन क्लब संकटाले उपाधि जितेको थियो भने उपविजेता अफ्रिकन रुट एसोसिएसन डाउल्ला, क्यामरुन रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।