काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मधेशी कोटाबाट निर्वाचित उद्योगी विनोद चौधरीको पद खारेजीको माग गर्दै केन्द्रीय निर्वाचन समितिमा परेको उजुरी खारेज भएको छ।
चौधरी विधान विपरीत केन्द्रीय सदस्य बनेको भन्दै उनको स्थानमा आफूलाई केन्द्रीय सदस्य बनाउन माग गर्दै सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले समितिमा उजुरी दिएका थिए। तर, निर्वाचन समितिले यादवको उजुरी खारेज गर्दै चौधरीलाई नै केन्द्रीय सदस्यको मान्यता दिएको छ।
पुस पहिलो साता सम्पन्न कांग्रेसको १४औं महाधिवेशनका लागि नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) ले केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको लागि निश्चित मापदण्ड बनाएको भए पनि त्यस विपरीत चौधरी केन्द्रीय सदस्य बनेको भन्दै यादवले उजुरी दर्ता गराएका थिए।
यादवले निर्वाचन समितिमा दिएको उजुरीमा भनिएको थियो ,'मधेशी खुला ५ पदका लागि भएको प्रतिस्पर्धामा विधानको व्यवस्था विपरीत विनोद चौधरी निर्वाचित भएको भनिएकोले निजलाई उक्त केन्द्रीय सदस्य पदबाट हटाई निजको ठाउँमा म निवेदन निकटतम् प्रतिस्पर्धी डा सुभाषचन्द्र यादवको नाम समावेश गरी पाउन उजुरी निवेदन गर्दछु।'
पाँच जना विजयी हुने मधेशी तर्फको खुलामा यादव छैटौं स्थानमा आएका थिए।
यादवले कांग्रेस विधानमा १० वर्ष निरन्तर नेपाली कांग्रेसको क्रियाशील सदस्य भएको महाधिवेशन प्रतिनिधिबाट ४ महिलासहित ९ जना मधेशी केन्द्रीय सदस्य बन्न पाउने व्यवस्था रहेको निवेदनमा उल्लेख गरेका थिए।
उनले केन्द्रीय सदस्यमा निर्वाचित विनोद चौधरी नेपाली कांग्रेसमा निरन्तर १० वर्ष क्रियाशील नभएकाले उनी केन्द्रीय सदस्यमा उम्मेदवार नै हुन नपाउने स्पष्ट रहेको उल्लेख गरेका थिए।
चौधरी २०७४ सालमा नेकपा एमालेबाट कांग्रेसमा प्रवेश गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।