काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आफूले मन्त्रालय सम्हालेपछिको सय दिनको अवधिको उपलब्धि सार्वजनिक गरेका छन्।
गत असोज २२ गते श्रेष्ठले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको एक सय दिन पूरा भएको छ। उनले आफूले मन्त्रालय सम्हालेपछिका ३५ उपलब्धि सोमबार सार्वजनिक गरेका छन्।
यस अवधिमा श्रम क्षेत्रका समस्याको समाधान गर्न, वैदेशिक रोजगारीलाई व्यवस्थित गर्ने र आन्तरिक रोजगारीका अवसर सिर्जना गर्न नीतिगत, कानूनी, संरचनागत सुधार मार्फत यो क्षेत्रलाई व्यवस्थित गर्ने आधार तयार गरिएको उनले बताएका छन्।
आफूले श्रम मन्त्रालयको कार्यभार सम्हालेपछि वैदेशिक रोजगारीमा व्याप्त बेथिति हट्ने आशा जागेको उनको दाबी छ।
वैदेशिक रोजगारीको क्षेत्रका बेथिति हटाउने, काम, पारिश्रमिक तथा सेवासुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुकहरू पहिल्याउने ति मुलुकहरुसँग श्रम सम्झौताको पहल गर्ने, यस क्षेत्रमा गरिएका नयाँ थालनीले श्रम, रोजगारी र सामाजिक सुरक्षाका क्षेत्रमा तरंग ल्याएको छ र आम जनतामा नयाँ आशा पलाएको श्रेष्ठको भनाइ छ।
मन्त्री बनेको चार दिनमै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेको उनले उल्लेख गरे।
आफूले मन्त्रालय सम्हाल्दा वैदेशिक रोजगार कार्यालयमा सेवाग्राहीका गुनासो धेरै र केही जटिलताहरु रहेको उनको भनाइ छ।
अहिले वैदेशिक रोजगार कार्यालयमा भएको सुधार सबैले अनुभुति गर्न पाउने उनको भनाइ छ।
उनले श्रम स्वीकृतिलाई पेपरलेस बनाइ सहज रूपमा सेवा प्रदान गर्न अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिन थालिएको भन्दै उल्लेख गरेका छन्।
वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको, श्रम स्वीकृति नविकरणका लागि ४ चरणको व्यवस्थालाई २ चरणबाट सम्पन्न गर्ने गरिएको भन्दै उनले उपलब्धिमा समावेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।