काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले निर्वाचन आयोगले सिफारिस गर्दा पनि सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा नगर्नुले आशंका पैदा गरेको बताएका छन्।
ज्ञवालीले नेपाल लाइभसँगको कुराकानीमा सरकार र गठबन्धनका दलहको नियतमाथि आशंका पैदा गरेको बताएका हुन्। ‘आयोगले एक सय दिनको समय मागेर सिफारिस गरेको महिना दिन बितिसकेको छ,’ उनले भने, ‘तर, अहिलेसम्म सरकारले यस बारेमा कुनै पनि निर्णय गर्न सकेको छैन।’
उनले निर्धारित समयमा नै स्थानीय तहको निर्वाचन हुनुपर्ने भन्दै कुनै बहानावाजी गरेर निर्वाचन सार्ने काम एमालेका लागि मान्य नहुने बताए। ‘सत्तामा रहेका अरु दलहरुको बारेमा हाम्रो कुनै टिप्पणी छैन। तर, नेपाली कांग्रेस जसले आफूलाई लोकतन्त्रको एउटा पहरेदार भन्छ। उसले नै नेतृत्व गरिरहेको बेलामा चाहिँ संविधानले प्रष्ट रुपले तोकेको निर्वाचनको दायित्वबाट सरकार पन्छिनु भनेको नेपाली कांग्रेसको नियतमाथि पनि एउटा गम्भीर प्रश्न उठने कुरा हो,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।