काठमाडौं– नेपाली कांग्रेसका महमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लिपुलेकको बारेमा सरकारको धारणा तयका लागि दबाब दिन प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेका छन्।
पार्टी सभापति समेत रहेका प्रधानमन्त्री देउवालाई भेटेर थापा र शर्माले नेपाली भूमिको सन्दर्भमा कूटनीतिक संवाद गर्न सुझाव दिएका थिए। जवाफमा देउवाले कूटनीतिक पहलबाटै समस्या समाधान गरिने र आफू त्यस पक्षमा रहेको बताएका थिए।
प्रधानमन्त्री देउवाको सचिवालयका एक सदस्यका अनुसार महामन्त्रीद्वय थापा र शर्मा बालुवाटार संवादमै रहेका बेला प्रधानमन्त्री देउवाले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई फोन गरेका थिए।
देउवाले फोनमार्फत् परराष्ट्रमन्त्री खड्कालाई लिपुलेकको बारेमा कूटनीतिक पहलमार्फत निकास खोज्न निर्देशन दिएको सचिवालयका ती सदस्य बताउँछन्।
स्रोतका अनुसार प्रधानमन्त्री देउवाले सरकारी धारणा तय गर्नका लागि सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीलाई सरकारी धारणा तय गर्न निर्देशन दिएका छन्।
सरकारी धारणा सार्वजनिक गर्ने विषयमा प्रधानमन्त्रीसँग कुरा गरेपछि महामन्त्रीद्वयले कांग्रेसको आधिकारिक धारणा प्रकाशित गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।