काठमाडौं– निर्वाचन आयोगले राजनीतिक दलहरुसँग गरेको छलफल सकिएको छ। शुक्रबार आयोग कार्यालय कान्तिपथमा स्थानीय तहदेखि संघीय संसद्सम्म प्रतिनिधित्व गर्ने दलहरुसँग छलफल गरेको हो।
छलफलमा विभिन्न दलका नेताहरुले राष्ट्रिय सभा निर्वाचनका लागि अहिले तोकिएको निर्वाचन केन्द्रहरु थप गर्न माग गरेका छन्। आयोगले प्रदेश २ का लागि दुईवटा र अन्य प्रदेशका लागि एक/एक वटा निर्वाचन क्षेत्र तोकेको छ। सातवटा प्रदेशमा ८ वटा मतदान स्थल र १४ वटा मतदान केन्द्र रहनेछन्।
आफूहरुले निर्वाचन केन्द्र थप गर्न माग गरेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए। ‘कोरोना संक्रमणको स्थितिलाई हेर्दा निर्वाचन केन्द्र थप्नुपर्छ। सकेसम्म प्रत्येक जिल्लामा र नभए दुई तीन जिल्लाको बीचमा राखेर जान सकिन्छ भने त्यतातिर सोच्न भनेका छौं’, उनले भने।
राष्ट्रिय सभामा स्थानीय तहका प्रमुख/उपप्रमुख/अध्यक्ष/उपाध्यक्षले मत दिने प्रावधान छ। रिक्त हुँदै गरेका २० मध्ये १९ जनाको पदपूर्तिको लागि यही माघ १२ गते निर्वाचन हुँदैछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।