काठमाडौं– नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य 'किरण'ले तत्काल कसैसँग पनि पार्टी एकताको सम्भावना नभएको प्रष्ट पारेका छन्।
नेकपा माओवादी केन्द्र तथा नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अहिलेको अवस्थामा एकता गर्न नसकिने बताए।
‘पुराना नोकरशाही र राज्यसत्तासँग सहकार्य गर्नेहरुसँग एकता हुन सक्दैन,’ वैद्यले भने, ‘यसपटक भएका महाधिवेशनले को कस्तो भन्ने छर्लङ्ग देखिएको छ। कसैले हिन्दू राजादेखि अन्य कुरामा प्रष्ट हुने मौका पाइएको छ।’
अब क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुवीकरण गरेर अघि बढ्नुपर्ने उनले बताए। मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बैद्यले प्रचण्ड नेतृत्वको माओवादी केन्द्र, विप्लव नेतृत्वको नेकपा र मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसँग भने एकता सम्भव नभएको दोहोर्याए।
प्रचण्डले पूर्वमाओवादीहरुसँग पार्टी एकता हुनसक्छ भनेर लगातार भन्दै आएको, तर पछिल्लो समय आफूहरूले एकताको प्रयास नै नगरेको उनले बताए।
माओवादी केन्द्रले आफूलाई संविधानको असली संरक्षकका रुपमा प्रस्तुत गरेको, तर आफूहरुले पुरानो राज्यसत्ता, संविधान र संसदीय व्यवस्था स्वीकार नगर्ने उनले बताए।
प्रचण्डको पछिल्लो दस्तावेजमा पनि संसदमा जानु, सेना समायोजनमा जानु गल्ती भयो भनेर नभनेको, बरु विद्रोहको कुरा गर्नु गल्ती भयो भनेको भन्दै वैद्यले अघि भने, ‘उहाँहरूले संसदीय व्यवस्था स्वीकार गरिसक्नुभएको छ। उहाँहरुसँग एकताको प्रयत्न गर्न जरुरी छैन।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।