काठमाडौं- नेकपा एमाले कञ्चनपुरमा नेतृत्व चयनको प्रक्रिया अझै सुरु हुन सकेको छैन। निर्वाचन प्रक्रियामा जानु अघिसम्म पनि सहमतिका लागि प्रयास जारी राखिएको थियो।
यद्यपी सोमबार उम्मेदवारी मनोनयन दर्ता गर्ने अन्तिम समयमा दुई वटा प्यानल नै बनाएर उम्मेदवारी दर्ता भएको थियो।
उम्मेदवारी दर्ता भइसकेपछि मतदान प्रक्रिया अघि बढाउनुपर्ने भए पनि अहिलेसम्म सुरु हुन सकेको छैन। निवर्तमान पार्टी अध्यक्ष बिरवहादुर थापा र सचिव सुरेन्द्र विष्ट दुईजना अध्यक्षका प्रतिस्पर्धी छन्।
दुई जनाबीच सहमति गराउन शुक्रबारदेखि नै प्रयास भए पनि हुन सकेको छैन। शुक्रबार उद्घाटन भएको अधिवेशन पाँच दिन बितिसक्दा पनि नेतृत्व चयन प्रक्रियामा अघि बढ्न सकेको छैन। थापा तत्कालीन नेकपा हुँदादेखि नै अध्यक्ष हुन्।
उनी नेकपा एमाले र माओवादी केन्द्र बनेपछि पनि नेकपा एमालेमै रहेका थिए। र उनलाई अध्यक्षकै जिम्मेवारी दिइएको थियो।
अध्यक्षका अर्का उम्मेदवार विष्ट नेकपा एमालेका बलिया संगठक मानिन्छन्। थापालाई एमाले सुदूरपश्चिम इन्चार्ज एवम् सचिव लेखराज भट्ट लगायतका नेताहरुले अध्यक्ष बनाउन चाहिरहेका छन्।
विष्टलाई नेकपा एमाले पोलिटब्यूरो सदस्य एवं कञ्चनपुर इन्चार्ज निरुदेवी पालसहित केन्द्रीय सदस्य नरबहादुर धामी र कृपाराम रानाले अध्यक्ष बनाउन चाहेका छन्। दुई जना अध्यक्षको प्यानलबाट उपाध्यक्ष, सचिव र उपसचिवमा उम्मेदवारी परेको छ।
विष्ट प्यानलबाट उपाध्यक्षमा लक्ष्मी बुढा, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा, फैरु तामांग र कर्णबहादुर चन्दको उम्मेदवारी परेको छ भने थापाको तर्फबाट उपाध्यक्षमा महेश पन्त, सचिवमा अशोककुमार चन्द, उपसचिवमा ईश्वरा बोहरा र शेरबहादुर चन्दको उम्मेदवारी परेको छ। नेकपा एमाले कञ्चनपुरमा ४९९ जना मतदाता रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।