काठमाडौं- नेपाली कांग्रेसको मेरुदण्डका रुपमा परिचित दुई भ्रातृ संस्था नेतृत्व विहीन हुन पुगेका छन्। नेपाल विद्यार्थी संघ र तरुण दलका अध्यक्ष स्वतः पदमुक्त भएपछि दुई भ्रातृ संस्था नेतृत्वविहीन हुन पुगेका हुन्।
नेविसंघका अध्यक्ष राजीव ढुंगाना र तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत केन्द्रीय सदस्यमा निर्वाचित भएपछि भ्रातृ संस्थाको मूल नेतृत्व रिक्त भएको छ। भ्रातृ संस्थाको पदाधिकारी पार्टी कार्यसमितिमा निर्वाचित वा मनोनित भए भ्रातृ संस्थाको पद छोडनु पर्ने विधानको व्यवस्था छ।
'भ्रातृ संघको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनैपनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भएमा निजको भ्रातृ संघको पद स्वतः रिक्त हुनेछ’, विधानको प्रावधान छ।
संशोधित विधान अनुसार ढुंगाना र बस्नेतले भ्रातृ संस्थाको नेतृत्व छोडनु परेको हो।
२०७३ को भदौमा भएको नेविसंघको ११ औं महाधिवेशनबाट अध्यक्षमा नैनसिंह महर विजयी भएका थिए। उनले समयमा १२ औं महाधिवेशन गर्न नसकेपछि राजीनामा दिन बाध्य पारिएको थियो।
२०७५ को माघमा महरले राजीनामा दिएका थिए। उनले राजीनामा दिएको एक वर्षपछि महाधिवेशन गर्ने कार्यादेश सहित अध्यक्षमा राजीव ढुंगाना अध्यक्षमा मनोनित भएका थिए।
६ महिनाभित्र संघको अधिवेशन गर्ने कार्यादेश पाएका उनले पनि अधिवेशन गराउन सकेनन्। ढुंगाना नेतृत्वको कार्यसमितिले पूर्णता समेत पाउन सकेको छैन।
भागवण्डाको आधारमा पदाधिकारी बाँडिएको थियो। कार्यसमितिले पूर्णता नपाउँदै तथा संघको अधिवेशन गराउन नसकेकै अवस्थामा ढुंगाना पार्टी राजनीतिमा केन्द्रीय सदस्य मार्फत प्रवेश गरेका छन्। पार्टीले पटक पटक गरी ६/६ महिना संघको पदावधि बढाउँदै आएको छ।
अर्को तर्फ, चार जनामा सीमित तरुण दलको कार्यसमिति अध्यक्ष बस्नेत पनि पार्टी राजनीतिमा प्रवेश गरेका छन्। २०७३ को मंसिरमा भएको चौथो महाअधिवेशनबाट बस्नेत तरुण दलको अध्यक्षमा निर्वाचित भएका थिए। तरुण दलले पनि समयमा महाधिवेशन गर्न सकेको छैन। पार्टीले पटक पटक तरुण दलको समयावधि थप्दै आएको छ।
ढुंगाना र बस्नेत दुवै जना सभापति शेरबहादुर देउवा पक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।